काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बिहीबार प्रतिनिधि सभामा विशेष समय लिएर बोलेका हरेक शब्द विशेष र निकै संवेनदशील थिए । उनका अभिव्यक्तिले राज्य विस्तारै जंगलराज र गुण्डा शासनतर्फ गएको आरोप लगाइरहेका थिए ।
सिंहका दाबी र आरोपको बारेमा सरकार तथा सत्तारुढ रास्वपामा अवश्य समीक्षा भएको होला । तर उनले व्यक्त गरेको एउटा तथ्य भने मेल खाएको छ । उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई मध्यरातमा ज्वागलमा बोलाएर कनपट्टीमा पेस्तोल तेस्याइएको आरोप लगाएका थिए ।
ज्वागल अर्थात् प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको घरबाट देशमा अवैध शासन चलिरहेको उनको आरोप थियो । सम्पत्ति शुद्धीकरणका डिजीको सन्दर्भमा उनले थप घटना उल्लेख गर्न आफूले नचाहेको बताएका थिए ।
सिंहको भनाइ थियो-‘यहाँ घटना उल्लेख गर्न चाहादिन कि,सम्पत्ति शुद्धीकरणको डिजीलाई बोलाएर कसरी कनपट्टीमा राति १ बजे पेस्तोल भिराइन्छ र भनिन्छ कि यसलाई २ घण्टाभित्र रेडकर्नर नोटिस जारी गर् ।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजी अहिले निर्मल ढकाल छन् । के कुमार बनेको घरमा उनलाई बोलाएर पेस्तोल तेर्स्याइएको हो त ? अमरेशले दावी गरेको जस्तो घटना निर्मलको हकमा नभएर उनी अगाडिका डिजी गजेन्द्र ठाकुरले व्यहोरेको बताइएको छ ।
ठाकुरलाई ज्वागलमा मध्यराति बोलाएर शेरबहादुर देउवा र आरजु देउवाविरुद्ध रेडकर्नर नोटिसको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको स्रोतले जनाएको छ । पर्याप्त आधार नभए पनि आफ्नो ज्यान जोगाउन उनले नेपाल प्रहरीलाई रेड कर्नरको सूचना पठाउन पत्राचार गरेको पाइएको छ ।
ठाकुर त्यसबेला कार्यालय पुग्दा हतास र त्रसित देखिने गरेको त्यसबेला उनीसँगै काम गरेका कर्मचारीहरुले बताएका छन् । हाल विभागबाट सरुवा भएर अन्यत्र कार्यरत एक कर्मचारीले ठाकुरले आफूमाथिको ज्यादति मधेशकै नेता भएकाले अमरेशलाई सुनाएको हुनसक्ने बताए ।
ठाकुरनिकट भने-‘यिनीहरुले मलाई मार्न सक्छन् । हामीलाई गोली हान्छन् यिनीहरु । मेरो ज्यान सुरक्षित छैन । उहाँ यस्तै कुरा गर्नुहुन्थ्यो । सायद त्यस्तै केही दबाब थियो होला । कृष्णहरी पुस्करलाई पक्राउ गरिएको प्रकरण र अख्तियारका पदाधिकारीहरुलाई प्रधानमन्त्री कार्यालयमै बन्धक बनाइएको कुराले पनि उहाँमा ज्यानको खतरा थियो होला ।’
ठाकुरकै पालामा देउवा दम्पत्तीविरुद्ध रेड नोटिसका लागि इन्टरपोलमा पत्राचार गरिएको थियो । तर पर्याप्त आधार नभएको भन्दै इन्टरपोलले रेड नोटिस जार्न अश्वीकार गरेको थियो ।
प्रधानमन्त्रीका सल्लाहकारले बोलाएर ‘फलानोलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि तान र पक्राउ गर अरु केही थाहा छैन त्यो व्यक्ति थुन्नुपरो’ भन्ने ढङ्गले दबाब दिने गरेको भन्दै ठाकुर आफैँले सरुवा मागेका थिए । उनी अहिले भरतताल प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन् ।
ठाकुर त्यसबेला कार्यालय पुग्दा हतास र त्रसित देखिने गरेको त्यसबेला उनीसँगै काम गरेका कर्मचारीहरुले बताएका छन् । हाल विभागबाट सरुवा भएर अन्यत्र कार्यरत एक कर्मचारीले ठाकुरले आफूमाथिको ज्यादति मधेशकै नेता भएकाले अमरेशलाई सुनाएको हुनसक्ने बताए ।
अमरेशले दावी गरेजस्तो ज्वागलमा ठाकुरको कञ्चटमा पेस्तोल दागिएको हो वा दबाब दिइएको हो भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन । प्रधानमन्त्रीका सल्लाहकार बालेन र प्रधानमन्त्रीको सचिवालयले सांसद सिंहको आरोपको खण्डन गरेको छैन र जवाफ पनि दिएको छैन ।
अमरेशकुमार सिंह पछिल्लो समय लगातार संसद र बाहिर पनि बालेन सरकार मधेशीप्रति अनुदार र निर्मम बनिरहेको भन्दै चर्को आलोचना गरिरहेका छन् । सुनसरी र सिरहामा युवाको हत्यादेखि मधेशी जनताको चुल्हो निभाउनेगरी सीमानामा गरिएको किनमेलमा कडाइको उनले विरोध गरेका छन् ।
सांसद सिंहले आफू आफ्नो अभिव्यक्तिप्रति जिम्मेवार रहेको र प्रधानमन्त्री तथा सरकारलाई सफल बनाउनुपर्छ भन्नेबाहेक अरु उद्देश्य नरहेको बताए ।
मधेशी जनताको मतबाट प्रधानमन्त्री बनेका मधेशकै छोरा बालेनले मधेशीमाथिको अत्याचार र विभेद कायमै राखे उनको नाश पनि मधेशीबाटै हुने अमरेशले हालै संसदमा बोलेका छन् । मधेशी मूलका २ मन्त्रीको बर्खास्ती,गौरीकुमारीलाई मन्त्री क्वार्टरमै पक्राउ गर्न प्रहरी परिचालन तथा मधेशी मूलका सचिवलाई एउटा एसएमएस गरेको आधारमा पक्राउ गरि बिनाकारण थुनेकामा उनले आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीका पिए र सल्लाहकारहरुको हप्कीदप्की र धम्की खेपेका मधेशी मूलका कर्मचारी तथा सांसदहरुले अमरेशलाई भेटेर गुनासो गर्ने गरेकाले संसदमा गजेन्द्र ठाकुर प्रकरणको समेत खुलासा गर्नुपर्ने बाध्यता आइलागेको अमेरेशले निकस्थहरुलाई बताएका छन् ।

