काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल बैठकमा उपाध्यक्षसमेत रहेका कार्यदलका संयोजक रामबहादुर थापा बादलले आफ्नै नेतृत्वमा रहेको कार्यदलको औचित्य नरहेको बताएपछि असन्तुष्ट सदस्यहरुले अयोग्यताको आरोप मात्रै लगाएनन्, कार्यसम्पादन गर्न नसके राजीनामा गर्न चुनौती दिए ।

शनिबारदेखि काभ्रेको पनौतीस्थित बल्थलीको एक होटलमा गोप्य तरिकाले बसेको बैठकमा कार्यदलमा रहेका नेताहरुले सबै विषय खुलस्त राखेको मात्र थिएन, एक पक्षले अर्को पक्षलाई गम्भीर आरोप पनि लगाएकाले कसरी निचोड निकाल्ने भन्ने चुनौती मध्यमार्गी नेताहरुमा थपिएको छ । आज पनि बिहान ९ बजेबाट बैठक सुरु भइसकेको छ । फोन सम्पर्क, बाहिर बसेका नेता तथा पत्रकारलाई सूचना दिनसमेत कडाई गरिएको बैठकमा आइतबार सबै सदस्यहरुले पालैपालो आफ्नो धारणा राखे । बैठकमा संयोजक रहेका बादल र सदस्य सचिव रहेका शंकर पोखरेललाई सदस्यहरुले उठाएका प्रश्नहरुको सवालजवाफ तथा सदस्यहरुको धारणा राख्ने विषय सबै सकिएको छ ।

अधिकांश सदस्यले पार्टीले आफूहरुलाई विशेष जिम्मेवारी दिएको तर देशभर दौडेर तयार प्रतिवेदन आफूहरुले नपाउँदै सार्वजनिक भएको भन्दै नेतृत्वको कडा आलोचना गरेका थिए । बैठकमा सहभागी एक सदस्यले भने, ‘हामीले मिडिया हेरेर थाहा पाउनुपर्ने भएको भए किन सदस्यमा राखेको ? किन देशभर डुलाएको ? समितिमै छलफल नगरी किन बाहिर लगेको भन्दै प्रश्न गरियो, नेतृत्व मौन थियो ।’

धेरै सदस्यले प्रश्न उठाएपछि संयोजक बादलले सुरुदेखि नै कार्यदलको औचित्य नरहेको बताएपछि उनीविरुद्ध सदस्यहरुले कडा प्रतिकार गरेका थिए । ‘हिजो सबैले सदस्यहरुले आआफ्ना धारणा राखियो । संयोजक बादलले सुरुदेखि नै आफूलाई कार्यदलको औचित्य नभएको लागेको बताउनुभयो, अहिले पनि त्यसमाआफ्नो धारणा क़ायम भएको बताउनुभयो । आफूले पेश गरेको डकुमेण्ट अध्यक्षको हो भन्नुभयो,’ ती सदस्यले नेपाल प्रेससँग भने ।

बादल यतिमा सीमित भएनन्, शंकर पोखरेलले लेखेको प्रतिवेदनमा आएको अध्यक्ष ओलीको विस्थापन सुरुदेखिकै योजना रहेको आरोपसमेत लगाए । ‘अध्यक्ष विस्थापनको योजना पहिलेबाटै बुनिएको थियो, सुरुमा विद्या भण्डारी, त्यसपछि ईश्वर र अहिले विष्णु–शंकरहरूले यो काम गरेको भन्छन् । यसको पनि त जवाफ दिनुपर्ने होला नि, हिजो सरकारमा, पार्टीमा रहँदा सचिवालयले निर्णय गरेर टुंगाउने, अहिले अध्यक्षलाई मात्रै आरोप लगाएर चोखिन मिल्छ ?,’ बादलले ओली र आफूमाथि प्रश्न गर्नेहरुलाई भनेका थिए ।

बादलको धारणापछि सदस्यसचिव रहेका महासचिव शंकर पोखरेलसहितका अन्य सदस्यहरुले कार्यदलको औचित्य छैन भने संयोजक किन भएको भनेर आक्रामक भएका थिए । ‘औचित्य नभएको ठाउँमा किन संयोजक बनेको ? बैठक किन बसाएको ? यो तपाईंको अयोग्यता हो । देशैभर किन डुलेको ? आफूले केही जिम्मा लिन पर्दैन ? मतान्तर भए एक ठाउँमा ल्याउन पहल गर्नुपर्नेमा आफैँले मत विभाजन गराएर पार्टीलाई जटिलतामा थप्ने ? नसके राजीनामा दिनुस्,’ उनीहरु अधिकांशको यस्तै आसय थियो ।

प्रश्न उठेको कुरामा जवाफ दिनु नेतृत्वको जिम्मेवारी हुनुपर्ने बताउँदै कार्यकर्ताले दिएको राय सुझावमाथि अपमान गर्न नमिल्ने बताएपछि बादल जवाफबिहीन बनेका थिए । बैठकमा उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङलाई बादल पक्षका नेताहरुले यसअघि कांग्रेृसँगको गठबन्धनको समन्वय गरेर सरकारमा बसेकाले जवाफ दिनुपर्ने र त्यसको दायित्व लिनुपर्नेमा अध्यक्षलाई दोष लगाएर उम्कन खोजेको बताएका थिए ।

‘‘धेरै सदस्यहरुले खुलेर मनमा लागेको धारणाहरु राखेको अवस्था छ, यसअघि कांग्रेससँगको गठबन्धन गरेर पार्टीको साख गिराएको, दुर्गा प्रसाई, एकनाथ ढकालजस्ता विवादित पात्रहरुलाई पार्टीमा ल्याएर बदनाम गराएको, यसअघिको सदन भंग गरेर पार्टीलाई जनस्तरमै आलोचना गराएको विषय सदस्यहरुले नेतृत्वलाई उठाएको अवस्था छ,’ बादल पक्षका अर्का सदस्यले भने, ‘‘यसअघि ओलीसँग सहकार्य गर्ने, पार्टी र सरकारको महत्वपूर्ण जिम्मेवारीमा बस्ने अनि दोष अध्यक्षलाई लगाएर आफू उम्कने रु भनेर प्रश्न उठेको छ ।’

पार्टी पुनगर्ठनको पक्षमा रहेका सदस्यहरु सुरुदेखि नै आक्रामक तरिकाले प्रस्तुत भएको ती सदस्यले बताए । उनका अनुसार जेन–जीको समस्याअघि सरकारमा अध्यक्ष ओलीसहित उपाध्यक्ष पौडेल, पृथ्वी सुब्बा गुरुङ रहेको र पार्टीको जिम्मेवारीमा महासचिव शंकर पोखरेल नै भएकाले कमजोरीको जिम्मा सबैले लिनुपर्ने धारणा राखेका थिए ।

शनिबार बेलुकी काभ्रे पुगेका सदस्यहरु पनौती नगरपालिका ११, बल्थलीस्थित एक होटलमा छन् । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पार्टी नेतृत्व र कार्यशैलीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै एमालेले वैशाखमा उपाध्यक्ष रामबहादुर थापा (बादल) को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियोे । कार्यदलको असार २५ मा सम्पन्न बैठकले उपाध्यक्ष बादल र महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिएको थियोे । तर, प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीकै बहिर्गमनको विषय उल्लेख भएपछि ओलीले आफू पक्षका नेतालाई उक्त प्रतिवेदन पुनर्लेखनको जिम्मेवारी दिएका थिए ।

शुक्रबार प्रतिवेदनबारे छलफल गरी पारित गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा महासचिव पोखरेलले तयार पारेकोसँगै त्यसको काउन्टरमा संयोजक बादलले तयार पारेको अर्को प्रतिवेदन पनि पेश भएको थियो । त्यसपछि उत्पन्न जटिलता फुकाउन शनिबार बेलुकीदेखि बस्ने गरी सारिएको थियो । कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकालसहित ९ वटै प्रदेशका इन्चार्ज सदस्य छन्। एमालेले ७ भौगोलिक प्रदेशसहित राजधानी, सम्पर्क मञ्च, केन्द्रीय आयोग, विभाग, सल्लाहकार परिषद्, प्रवास र जनसंगठनलगायतका निकायमा छलफल गरी सुझाव संकलन गरेको थियो ।

जेठ ३० गते शुरु भएको सुझाव संकलन असार २३ मा सकिएपछि महासचिव पोखरेलले प्रतिवेदन तयार पारेका हुन् । प्रतिवेदन पारित गर्नुपर्ने बैठकमा अध्यक्ष ओलीका तर्फबाट अर्को प्रतिवेदन पनि आएका कारण सोही जटिलतालाई बल्थलीको आवासीय बैठक बसालिएको हो ।

आज ९ बजेदेखि सुरु भएको बैठकमा नेताहरुले दुई विकल्प राख्ने तयारी गरेका छन् । पहिलो दुवै प्रतिवेदन मर्ज गरेर एक बनाउने र त्यसमा शंकर पोखरेलले तयार गरेको प्रतिवेदनमा रहेको अध्यक्ष हटाउने र विशेष महाधिवेशन बोलाउने शब्दहरु हटाएर आवस्यकताका आधारमा नेतृत्व परिवर्तन गरेर जान सकिने बनाउने तथा बादलले तयार गरेको प्रतिवेदनमा कार्यदलकै नेताहरुमाथि लगाइएको गम्भीर आरोपसहित पृष्ठभूमिलाई हटाएर जानसक्ने प्रस्ताव आएका छन् । तर पुनर्गठनको पक्षमा रहेका नेताहरुले सहमति जनाएका छैनन् । ‘नीतिगत छलफल सकिएको छ, दुवै प्रतिवेदन पुनःलेखन गरेर केन्द्रीय कमिटीमा पठाउनुको विकल्प छैन, यसको जिम्मा संयोजक र सदस्य सचिवलाई दिने कि आजै दिनभर बसेर फाइनल गरी सबैले हस्ताक्षर गर्ने धारणा आएकाले कतिबेला सकिने निश्चित छैन,’ मध्यमार्गी धारका एक सदस्यले भने ।