काठमाडौं– नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद अब निर्णायक मोडमा पुगेको छ।
संस्थापन पक्षले तय गरेको प्रक्रियामा सहभागी हुन नसक्ने निष्कर्ष निकाल्दै संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
सोमबार पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बसेको संस्थापन इतर समूहको बैठकले सानेपाबाट तय गरिएको प्रक्रियालाई स्वीकार गरेर महाधिवेशनमा सहभागी हुने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
इतर समूह अब संस्थापन पक्षले अघि सारेको संरचनाभित्र समेटिनुभन्दा आफूहरूले यसअघि प्रस्ताव गरेको कार्यतालिकालाई आधार बनाएर महाधिवेशन प्रक्रिया अघि बढाउने पक्षमा पुगेको छ।
यो निर्णयसँगै कांग्रेसको १५औँ महाधिवेशन एउटै पार्टीभित्र दुई फरक प्रक्रियाबाट अघि बढ्ने जोखिम बढेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेको थियो।
संस्थापन पक्षले १४औँ महाधिवेशनबाट आएका केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा जिम्मेवारी लिन सक्ने गरी बाटो खुला गरेको थियो।
तर संस्थापन इतर समूहले भने यो निर्णयलाई स्वीकार गर्ने संकेत दिएको छैन।
इतर समूहका नेताहरूले आफूहरूको अभियान कुनै निश्चित पद वा व्यक्तिको दाबीका लागि नभई पार्टीको संस्थागत संरचना जोगाउने उद्देश्यले अघि बढाइएको दाबी गरेका छन्।
यही आधारमा उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय बैठकले गरेको छ।
कांग्रेसभित्रको पछिल्लो विवाद केवल महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सीमित छैन। विवादको केन्द्रमा महाधिवेशन प्रतिनिधित्व, केन्द्रीय सदस्यको वैधानिक हैसियत र महाधिवेशन सञ्चालन गर्ने प्रक्रियाको वैधता समेत जोडिएको छ।
संस्थापन पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित संरचनालाई निरन्तरता दिँदै १५औँ महाधिवेशनमा सहभागी गराउने बाटो रोजेको छ। इतर समूह भने त्यसलाई स्वीकार गर्न तयार देखिँदैन।
यसले कांग्रेसभित्र अब महाधिवेशनको मञ्च एउटै हुने कि दुई धारमा विभाजित हुने भन्ने प्रश्न खडा गरेको छ।
यदि दुवै पक्ष आ–आफ्नो कार्यतालिका र प्रक्रियामा अघि बढे भने पार्टीको आन्तरिक विवाद थप जटिल बन्न सक्छ।
बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको पछिल्लो निर्णयबारे अनौपचारिक छलफल भएको जानकारी दिए।
उनका अनुसार सोमबार साँझ ४ बजे पत्रकार सम्मेलन गरेर संस्थापन इतर समूहले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नेछ।
त्यसपछि कांग्रेसको महाधिवेशन प्रक्रिया कुन दिशामा अघि बढ्छ भन्ने अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।
अहिले कांग्रेसका दुवै पक्षबीच देखिएको मतभेदले एउटा गम्भीर राजनीतिक प्रश्न जन्माएको छ- १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने कांग्रेसको नियमित प्रक्रिया बन्छ वा पार्टीभित्रको शक्ति संघर्षलाई औपचारिक रूपमा विभाजनतर्फ लैजाने बिन्दु?
संस्थापन इतर समूहको पछिल्लो निर्णयले कम्तीमा यति संकेत गरेको छ-अब विवाद सहमतिमा मिल्ने चरणबाट समानान्तर प्रक्रियातर्फ सर्दैछ।

