काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनदेवी छाडेकोबारे मुख खोलेका छन्।
चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी भित्रको एकता कायम राख्न वार्ताको विकल्प नभएको बताए।
खड्का समूह सानेपा जान तयार भएकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘हामी एकताबद्ध भएर जान चाहन्छौँ। कुनै समूह चोटिन्छ भने हामीले के गर्न सक्छौँरु वार्ता बाहेक हाम्रो कुनै समाधान छैन। उनीहरूसँग वार्ता गरेर मूल बाटोमा हामी उनीहरूलाई स्वागत गर्न चाहन्छौँ। एकताबद्ध हामी अगाडि बढ्न चाहन्छौँ।’
उनले १५औँ महाधिवेशन अत्यन्त महत्त्वपूर्ण भएको बताए।
उनले थपे, ‘यसले दिशा दिन्छ, भविष्यको दिशा दिन्छ। नेपालको राजनीतिको दिशा दिन्छ। त्यसैले हामी एकदम गम्भीर छौँ।’
उनले संस्थापन पक्षले दाबी गरेजस्तो आफूहरूको माग सम्बोधन नभएको जिकिर गरे।
उनले भने, ‘उहाँको तर्कले मात्र कहाँ पुग्छ, हाम्रो तर्क पनि त सुन्नुपर्यो नि। हामीले त कति चोटि भन्यौँ, एकताबद्ध हामी जाऔँ भनेर, वार्ता गर्न आउनुस् भनेर। उहाँसँग मात्र होइन, गगनज्यूसँग पनि भन्यौँ। विश्वप्रकाशसँग पनि भन्यौँ। तर आउनुभएन।’

