बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले २०२७ भित्र नेपालसँग द्विपक्षीय क्रिकेट सिरिज खेल्ने विषयमा सकारात्मक रूपमा छलफल भइरहेको जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले केही समयअघि बंगलादेशलाई उसकै मैदानमा द्विपक्षीय सिरिज खेल्न प्रस्ताव पठाएको थियो। बीसीबीका क्रिकेट अपरेसन इन्चार्ज शाहरियार नफिसले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको प्रस्तावलाई बोर्डले सकारात्मक रूपमा लिएको र दुवै पक्षबीच छलफल भइरहेको बताए।
बंगलादेशको व्यस्त फ्युचर टुर प्रोग्राम (एफटीपी) का कारण उपयुक्त समय मिलाउन चुनौती रहे पनि २०२७ सम्मको चक्रभित्रै सिरिज आयोजना गर्ने प्रयास भइरहेको नफिसको भनाइ छ।
“नेपाल क्रिकेट संघबाट प्रस्ताव आएको छ र हामीले त्यसलाई निकै सकारात्मक रूपमा लिएका छौँ। सबै कुरा मिलेको अवस्थामा २०२७ सम्मको यस चक्रभित्रै सिरिज खेलाउने हाम्रो इच्छा छ,” नफिसले भने।
नेपाल र बंगलादेशबीच हालसम्म पुरुष क्रिकेटमा नियमित द्विपक्षीय सिरिज हुन सकेको छैन।

