काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २५.५५ अंकले बढेको छ । गत शुक्रबार करिब २८ अंकले बढेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

सो दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा दोहोरो अंकको वृद्धि सम्भव भएको हो । तीमध्ये पनि अघिल्ला दिनमा धेरै घटेको जलविद्युत्, अन्य, निर्जीवन बिमा, जीवन बिमा उपसमूहको परिसूचक धेरै अंकले बढेको देखिन्छ ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.९९ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ८५.०४ अंकमा उक्लेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये २२६ कम्पनीको सेयर मूल्य बढ्दा ४७ वटाको घटे र २ वटा समूहको सेयर मूल्य स्थिर छ । नेप्से दोहोरो अंकले बढ्दा पनि २२६ वटा कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य बढेको छ । ती कम्पनीको सेयर मूल्य बढेकाले सेयरधनीको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिएको हो ।

शुक्रबार धेरै सेयर मूल्य बढ्ने मुख्य पाँच कम्पनीमा इन्फिनिटी लघुवित्त, त्रिशुली जलविद्युत, सृजनशील लघुवित्त, सर्वोत्तम पेन्ट्स र मल्टिप्रपोज फाइनान्स छन् । जसअनुसार इन्फिनिटी लघुवित्तको सेयर मूल्य ६.४३, त्रिशूली जलविद्युत् ६.३८, सृजनशील लघुवित्तको ५.९३, सर्वोत्तम पेन्ट्सको ५.४० र मल्टिप्रपोज फाइनान्सको ५.२१ प्रतिशतले बढे ।

तर, सो दिन ४७ कम्पनीका सेयरधनीले भने नोक्सान बेहोर्नु परेको छ । ती कम्पनीको सेयर मूल्य घटेपछि सेयरधनीको सम्पत्तिको मूल्य घटेको रुपमा विश्लेषण गरिएको हो ।

तीमध्ये सबैभन्दा धेरै सेयर मूल्य घट्ने मुख्य पाँच कम्पनीमा उपकार लघुवित्त, अभियान लघुवित्त, सनराइज फोकस्ड इक्विटी, सानिमा बैंक ऋणपत्र र इमर्जिङ नेपाल छन् । जसअनुसार उपकार लघुवित्तको सेयर मूल्य ८.२३, अभियान लघुवित्तको ५.२२, सनराइज फोकस्ड इक्विटीको ५.११, सानिमा बैंक ऋणपत्रको ३.९३ र इमर्जिङ नेपाल सिन्धु विकास बैंकको ३.८६ प्रतिशतले घटे ।

सोमबार कुल ४९ हजार ७४ पटकको कारोबारमा १ करोड १५ लाख ९५ हजार ६ सय ५४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ६८ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढेको हो । गत शुक्रबार सेयर बजारमा ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो । कारोबार रकमका आधारमा भने सोमबार एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट सबैभन्दा अघि छ । प्रतिकित्ता १ हजार ४ सय ४८ रुपैयाँका दरले यो कम्पनीको २४ करोड ९० लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।