म्याग्दी । म्याग्दीमा बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै किशोरीहरू गर्भवती हुने र आमा बन्ने अवस्था अझै देखिएको छ। जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन्। तीमध्ये एक किशोरीले १४ वर्षमै आमा बनेकी छन्।

प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा सुत्केरी भएका ५८५ जनामध्ये ११६ जना अर्थात् १९.८२ प्रतिशत २० वर्षमुनिका छन्। तीमध्ये छ जना घरमै सुत्केरी भएका कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ४३ जना अर्थात् ५.७५ प्रतिशत २० वर्षमुनिका छन्।
आर्थिक वर्ष २०८१/८२ मा सुत्केरी भएका तथा सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १९० जना अर्थात् १३.७२ प्रतिशत २० वर्षमुनिका थिए। आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका १६१ जना सुत्केरी भएका थिए भने यही उमेर समूहका २९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए।
विसं २०७८ को जनगणनाअनुसार म्याग्दीमा प्रजननयोग्य उमेर समूहका महिलाको संख्या २१ हजार १८३ छ। जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्रै परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन्।
म्याग्दी बहुमुखी क्याम्पसकी उपप्राध्यापक रेखाकौशल रेग्मीले सामाजिक परिवेश फेरिए पनि बालविवाह कायमै रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको बताइन्।
उनका अनुसार बालविवाह, असुरक्षित तथा अनिच्छुक गर्भधारणमा मेलाजात्रा, सामाजिक सञ्जाल, गरिबी, अभिभावकको निगरानीको कमी, असल अभिभावकत्व तथा संरक्षणको अभाव र भावनात्मक परिस्थितिले प्रभाव पार्ने गरेको छ।
“किशोरीहरू भावनात्मक परिवेशमा परेर बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छन्,” उनले भनिन्।
प्रदेश अस्पताल बेनीका प्रमुख चिकित्सक डा. हेमन्त बास्तोलाका अनुसार गत आर्थिक वर्ष अस्पतालमा सुत्केरी भएकामध्ये एक जना १४ वर्षमै आमा बनेकी थिइन्। अस्पतालबाट १५ वर्षका तीन, १६ वर्षका चार, १७ वर्षका १० र १८ वर्षका २२ जनाले प्रसूति सेवा लिएका थिए।
“बालविवाह, विद्यालय छाड्ने अवस्था, गरिबी, सामाजिक दबाब, लैङ्गिक असमानता तथा किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमी एकसाथ जोडिएको छ,” उनले भने, “शरीर पूर्ण रूपमा परिपक्व नभइसकेका कारण गर्भावस्था र प्रसूतिको समयमा जटिलता निम्तिन सक्ने जोखिम हुन्छ।”
प्रदेश अस्पताल बेनीको अभिलेखअनुसार पछिल्लो १४ महिनामा प्रसूति सेवा लिन आएका २० वर्षमुनिका किशोरीमध्ये ५२ जना अर्थात् ६८.४ प्रतिशत दलित समुदायका छन्। त्यस्तै, १७ जना जनजाति र सात जना ब्राह्मण/क्षेत्री समुदायका छन्।
विद्यालय तहको पढाइ पूरा नहुँदै किशोरी तथा युवती आमा बन्ने र गर्भवती हुने अवस्थाले उनीहरू उच्च शिक्षा तथा रोजगारीका अवसरबाट वञ्चित हुने र सामाजिक रूपमा पछाडि पर्ने गरेको उपप्राध्यापक रेग्मीले बताइन्।
उमेर नपुगी गरिएको विवाह दर्ता नहुने र विवाह दर्ता नभए जन्मदर्तालगायतका कागजात बनाउन समस्या हुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधा लिनसमेत कठिनाइ हुने गरेको छ।
उमेर नपुगी विवाह गरेका दम्पतीले पारिवारिक जिम्मेवारी पूरा गर्न नसक्दा पारिवारिक विचलनसमेत आउने गरेको चिकित्सक बताउँछन्।
बालविवाह रोकथामका लागि कानुनी सचेतना मात्रै पर्याप्त नहुने डा. बास्तोलाको भनाइ छ। उनका अनुसार विद्यालयमा किशोरीको निरन्तरता, परिवारको आर्थिक अवस्था सुधार, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र जोखिममा रहेका बालबालिकाको पहिचान तथा संरक्षणलाई प्रभावकारी बनाउन आवश्यक छ।