धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफ्नो छोरा, अधिकार र आत्मसम्मानका लागि कानुनी प्रक्रियामा अघि बढेको स्पष्ट पारेकी हुन् ।

लामो समय मौन बसे पनि अब आफूले कानुनी बाटो रोजेको उनले बताएकी छन् ।

‘लामो समयको मौनतापछि मैले कानुनी बाटो रोजेकी छु, यो प्रतिशोध होइन, कसैलाई अपमान गर्ने अभियान पनि होइन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्नु आफ्नो अधिकार भएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै रञ्जिताले सम्बन्धको मर्यादा, परिवारको सम्मान र आफ्नै संस्कारका कारण धेरै वर्ष मौनता रोजेको बताएकी छन् ।

विशेषगरी आफ्नो छोराले बुबाको माया, साथ, समय र जिम्मेवारी पाउनुपर्ने उमेरमा त्यसको अभाव महसुस गर्दा आफूलाई पीडा भएको उनले उल्लेख गरेकी छन् ।

छोराको बालमनमा बुबाप्रति घृणा उत्पन्न नहोस् भनेर आफूले कहिल्यै विष नघोलेको र उसका प्रश्नहरूको उत्तर दिँदा आफ्ना आँसु लुकाएको रञ्जिताको भनाइ छ ।

‘बुबा हुनु केवल सम्बन्धको नाम होइन, यो सन्तानप्रतिको जिम्मेवारी पनि हो,’ भन्दै उनले अब आफ्नो छोराको भविष्य र आत्मसम्मानका लागि उभिएको बताएकी छन् ।

आफूले कसैलाई दोषी घोषणा नगरेको र दोषी ठहर गर्ने अधिकार कानुनको भएको पनि उनले बताएकी छन् । कुनै काम कानुनविपरीत भएको रहेछ भने त्यसको परिणाम सामना गर्नुपर्ने उनको भनाइ छ ।

म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिँदिनँ, कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ,’ श्रेष्ठले लेखेकी छन्, ‘तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन ।’

सामाजिक सञ्जालमा हुने बहसभन्दा सम्बन्धित विषय कानुन र प्रमाणका आधारमा टुंगिनुपर्ने उनको धारणा छ । अब सामाजिक सञ्जालमा हरेक शब्दको जवाफ नदिने भन्दै उनले आफ्ना कुरा सम्बन्धित ठाउँमा राख्ने र बाँकी कुरा कानुन र समयले स्पष्ट पार्ने बताएकी छन् ।

‘मेरो मौनतालाई सहमति नठानियोस्,’ भन्दै श्रेष्ठले आफू शान्त भए पनि अब कमजोर नरहेको उल्लेख गरेकी छन् । आफ्नो कदम कसैसँग युद्ध गर्न नभई छोरा, अधिकार र आत्मसम्मानको पक्षमा रहेको उनको प्रस्टोक्ति छ ।

रञ्जिताले रोजेको कानूनी बाटो के हो भन्ने स्पष्ट भएको छैन । उनी स्वयमले पनि यसलाई प्रष्ट्याएकी छैनन् ।