रुपन्देही । रुपन्देहीमा नसर्ने रोगको जोखिम बढेका मात्रै छैन सबैभन्दा बढी क्यान्सरको जोखिम बढेकाले राज्यको सहयोग खोज्नेको संख्या बढेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदनमा क्यान्सर, मुटु र मिर्गौलालगायत रोगका कारण उपचारमा राज्यको सहयोग खोज्ने नागरिकको संख्या उल्लेख्य रहेको र त्यसमा सबैभन्दा धेरै क्यान्सरको देखिएको छ ।

विपन्न नागरिक उपचार कोषअन्तर्गत एक लाख रुपैयाँसम्मको उपचार सहायताका लागि सिफारिस भएका सेवाग्राहीमध्ये क्यान्सरका बिरामीको संख्या सबैभन्दा धेरै छ । जिल्लाभर क्यान्सरका ४३९, मुटुका २७६ र मिर्गौलाका १६२ जना उपचार सहायताका लागि सिफारिस भएका छन् ।

सिकल सेल एनिमिया, स्पाइनल इन्जुरी र हेड इन्जुरीका सेवाग्राहीसमेत उपचार सहायताको प्रक्रियामा छन् ।स्वास्थ्य कार्यालयको तथ्यांकले नसर्ने रोगको भार कुनै एक पालिकामा मात्र सीमित नभई जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको देखाउँछ ।

बुटवलमा क्यान्सरका ७५, मुटुका ४३ र मिर्गौलाका ३४ जना उपचार सहायताका लागि सिफारिस भएका छन् । तिलोत्तमामा क्यान्सरका ६७, मुटुका ३५ र मिर्गौलाका २६ जना छन् ।

सैनामैनामा क्यान्सरका ४१, मुटुका २७ र मिर्गौलाका १२ जना उपचार सहायताका लागि सिफारिस भएका छन् । देवदहमा क्यान्सरका ३५, मुटुका २३ र मिर्गौलाका १५ जना छन् । सिद्धार्थनगरमा मुटुका ४०, क्यान्सरका ३१ र मिर्गौलाका १७ जना उपचार सहायताका लागि सिफारिस भएका छन् ।

अन्य पालिकाको विवरणअनुसार शुद्धोधनमा क्यान्सरका ३२, मिर्गौलाका १० र मुटुका चार जना छन् । सियारीमा क्यान्सरका २३, मुटुका १० र मिर्गौलाका आठ जना उपचार सहायताका लागि सिफारिस भएका छन् ।

गैडहवामा क्यान्सरका २२, मुटुका १२ र मिर्गौलाका सात जना छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा क्यान्सरका २१, मुटुका २० र मिर्गौलाका पाँच जना छन् । कञ्चनमा क्यान्सरका २१, मिर्गौलाका सात र मुटुका पाँच जना छन् । ओमसतियामा क्यान्सरका १९, मुटुका १४ र मिर्गौलाका चार जना उपचार सहायताका लागि सिफारिस भएका छन् ।

त्यसैगरी रोहिणीमा क्यान्सरका १४, मुटुका ११ र मिर्गौलाका तीन जना छन् । कोटहीमाईमा क्यान्सरका १३, मुटुका ११ र मिर्गौलाका सात जना छन् । सम्मरीमाईमा क्यान्सरका ११, मुटुका चार र मिर्गौलाका एक जना उपचार सहायताका लागि सिफारिस भएका छन् ।

मायादेवीमा मुटुका १४, क्यान्सरका आठ र मिर्गौलाका एक जना छन् । मर्चवारीमा क्यान्सरका छ, मिर्गौलाका पाँच र मुटुका तीन जना उपचार सहायताका लागि सिफारिस भएका छन् । उपचार सहायताका लागि सिफारिस भएका सेवाग्राहीको विवरणले क्यान्सरका बिरामीको संख्या अन्य प्रमुख नसर्ने रोगका बिरामीभन्दा धेरै रहेको देखाएको छ । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा एक लाख रुपैयाँसम्मको उपचार सहायताका लागि सिफारिस भएका क्यान्सरका बिरामीको संख्या ४३९ पुगेको छ ।

प्रदेश सरकारबाट दुई लाख रुपैयाँसम्मको विशेष स्वास्थ्य उपचार आर्थिक सुविधाका लागि सिफारिस भएका सेवाग्राहीमा पनि क्यान्सरका बिरामीको संख्या उल्लेख्य छ । तिलोत्तमाबाट क्यान्सरका ३८, बुटवलबाट २७ र सैनामैनाबाट २२ जना विशेष स्वास्थ्य उपचार आर्थिक सुविधाका लागि सिफारिस भएका छन् ।

एक लाख १९ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण

रुपन्देहीमा नसर्ने रोगको जोखिम पहिचानका लागि गत आर्थिक वर्षमा एक लाख १९ हजार ९२३ जनाको स्क्रिनिङ गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार निर्धारित लक्ष्यको तुलनामा १०६ दशमलव ०६ प्रतिशत प्रगति भएको छ ।

स्क्रिनिङका क्रममा रक्तचाप परीक्षण गरिएकामध्ये ४९ प्रतिशतमा प्रि–हाइपरटेन्सन, १६ प्रतिशतमा स्टेज–१ र ६ प्रतिशतमा स्टेज–२ उच्च रक्तचाप देखिएको छ । मधुमेह परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा मात्रा उच्च पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रक्तचाप र मधुमेहको परीक्षणमा देखिएको अवस्थाले नसर्ने रोगको जोखिम पहिचान र समयमै उपचारको आवश्यकता औँल्याएको छ । स्वास्थ्य कार्यालयले उपचारसँगै रोगको जोखिम न्यूनीकरण र जीवनशैली सुधारलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले नसर्ने रोग नियन्त्रणका लागि उपचारसँगै जीवनशैली सुधारमा जोड दिनुपर्ने बताइन् । ‘नसर्ने रोगबाट बच्न जनचेतना, नियमित स्क्रिनिङ, खानपान व्यवस्थापन, योग तथा नियमित हिँडडुलजस्ता गतिविधिलाई प्राथमिकता दिनुपर्छ,’ उनले भनिन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकमा सैनामैनामा स्पाइनल इन्जुरीका एक र सिकल सेल एनिमियाका सात जना सेवाग्राही छन् । सियारीमा सिकल सेल एनिमियाका दुई, ओमसतियामा छ, कोटहीमाईमा स्पाइनल इन्जुरीका एक तथा सम्मरीमाईमा स्पाइनल इन्जुरीका एक सेवाग्राहीसमेत उपचार सहायताका लागि सिफारिस भएका छन् ।

नसर्ने रोगको बढ्दो जोखिमसँगै उपचार सहायताका लागि सिफारिस भएका बिरामीको संख्या पनि बढ्दै गएको देखिन्छ । उपचार सहायताका लागि सिफारिस भएका सेवाग्राहीमा क्यान्सर, मुटु र मिर्गौलाका बिरामीको संख्या उल्लेख्य हुनु स्वास्थ्य क्षेत्रमा चुनौतीका रूपमा देखिएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार अस्वस्थ्य खानपानसँगै जीवनशैलीमा ध्यान नदिएका कारण पछिल्लो समय यस्ता रोगको संख्या बढ्दै गएको हो ।