काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने भएका छन् ।

विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिको बैठकले समायोजनको निर्णय गरेपछि नेताहरू सानेपा जान तयार भएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनबाट बाहिर रहेकाहरूलाई पनि समायोजन हुन आह्वान गरिसकेको छ । आह्वानपछि देउवानिकटका नेताहरू बैठकमा जान लागेका हुन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकटका नेता पनि सानेपा जाने तयारीमा छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो सानेपामा बस्दै छ। कांग्रेसको भोलिबाट १५ औँ महाधिवेशन प्रक्रिया सुरू हुँदैछ । खड्का निकट नेताहरू सानेपा गएपनि खड्का भने आफैँले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन नभएकाले नजाने भएका छन् ।

आज आफूहरू सानेपा बैठकमा जानेबारे छलफल भइरहेको नेता रामहरि खतिवडाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘पार्टीमा समायोजन भनेपछि हामी जान तयार भएका हौँ । रुख र चार तारे झन्डा जहाँ हुन्छ, हामी त्यही हुन्छौँ । महाधिवेशन प्रक्रियामा पनि भाग लिन्छौँ ।’

खतिवडासहित डिना उपाध्याय, श्याम घिमिरे, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, नैनसिंह महर, जीवनबहादुर शाही, गोविन्द भट्टराईलगायत छन् ।

यसअघि यो समूहले सामूहिक रूपमा पार्टी एकताको अपिल गरेको थियो । आज विशेष महाधिवेशनबाट बाहिर रहेका ४० भन्दा बढी केन्द्रीय सानेपा जाने दाबी गरिएको छ ।