धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले लामो समयदेखि एउटै प्रहरी कार्यालयमा बस्दै आएका प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता पठाउन थालेका छन्।
भनसुन तथा पहुँचका आधारमा सहज स्थानमा लामो समयदेखि कार्यरत प्रहरी कर्मचारीलाई समेत दरबन्दी भएकै स्थानमा पठाउने अभियानलाई उनले तीव्रता दिएका हुन्।
डीआईजी भट्टराईले जिम्मेवारी सम्हालेपछि प्रदेशभर प्रहरी कर्मचारीको खटनपटनलाई व्यवस्थित बनाउँदै लामो समय एउटै स्थानमा कार्यरत कर्मचारीलाई फिर्ता पठाउने प्रक्रिया अघि बढाएका हुन्। हालसम्म ३५० भन्दा बढी प्रहरी कर्मचारी दरबन्दीमा फर्किसकेको प्रहरी स्रोतले जनाएको छ।
कञ्चनपुरमा करिब १० वर्षदेखि एउटै प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानदेखि डोटीमा २० वर्षसम्म एउटै क्षेत्रमा बसेका प्रहरी कर्मचारीसमेत यसपटक तोकिएको दरबन्दीमा फर्किएका छन्। डडेल्धुरामा समेत १७ वर्षदेखि एउटै स्थानमा कार्यरत प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाइएको बताइएको छ।
पछिल्लो दुई दिनमा मात्रै ३५ जना सवारी चालक दरबन्दीमा फर्किएका छन्। प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयलाई पत्राचार गर्दै कुनै बहाना नगरी ४८ घण्टाभित्र रमाना गर्न निर्देशन दिएको छ।
लामो समय एउटै स्थानमा बस्दा प्रहरीको अपराध अनुसन्धान तथा कार्यसम्पादनमा असर पर्न सक्ने भन्दै खटनपटनमा विशेष ध्यान दिइएको डीआईजी भट्टराईले बताएका छन्।
‘लामो समयदेखि एउटै ठाउँमा बस्नु उपयुक्त हुँदैन। त्यसैले दरबन्दी भएकै स्थानमा जाने गरी सर्कुलर गरेका हौँ,’ डीआईजी भट्टराईले भने।
उनका अनुसार विभिन्न कारणले तत्काल दरबन्दीमा जान समस्या भएका प्रहरी कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस तथा उपलब्ध तथ्य–प्रमाणका आधारमा निर्णय गरिनेछ। प्रदेश प्रहरी कार्यालयले काजलाई निरुत्साहित गर्ने नीति लिएको छ।
डीआईजी भट्टराईले सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको छोटो अवधिमै प्रहरी संगठनभित्रको अनुशासन, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिएका छन्। पदभार ग्रहण गरेलगत्तै उनले अघिल्लो नेतृत्वका बेला गरिएको ४४४ जना प्रहरी कर्मचारीको काज सरुवा बदर गरेका थिए।
कञ्चनपुरको चाँदनी–दोधारामा लामो समयदेखि एउटै स्थानमा कार्यरत एउटा युनिटका प्रहरी कर्मचारीलाई समेत विभिन्न स्थानमा खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
डीआईजी भट्टराईले लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, तस्करी रोकथाम, ट्राफिक व्यवस्थापन तथा प्रहरी संगठनभित्र आर्थिक अनुशासन र सुशासन कायम गर्ने अभियानलाई समेत प्राथमिकतामा राखेका छन्।
‘प्रहरीको आचरण र व्यवहार सुधार, आर्थिक अनुशासन, लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण, जुवातासलगायत गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन मातहतका प्रहरीलाई निर्देशन दिएको छु,’ उनले भने, ‘सुदूरपश्चिममा लागूऔषध र अपराध नियन्त्रण गर्नु मेरो प्रमुख लक्ष्य हो।’
प्रहरी संगठनभित्र गुनासो सुन्ने संयन्त्र स्थापना, भनसुनका आधारमा हुने काज सरुवा नियन्त्रण, कार्यसम्पादनको नियमित अनुगमन तथा आन्तरिक अनुशासनमा कडाइ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सीमावर्ती क्षेत्रमा लागूऔषध तथा तस्करी नियन्त्रणका लागि विशेष टोली परिचालन, संवेदनशील नाकामा डग स्निफिङ, रातिको आकस्मिक अनुगमन, प्रहरी कन्ट्रोल तथा सीमा ड्युटीको छड्के निरीक्षण र मातहतका कार्यालयसँग दैनिक समीक्षा बैठकलाई समेत नियमित बनाइएको छ।
प्रहरी अधिकारीहरूका अनुसार डीआईजी भट्टराईले बिहानै कार्यालय पुगेर दैनिक कार्यसम्पादनको समीक्षा गर्ने तथा रातिसम्म राजमार्ग, सीमा क्षेत्र र प्रहरी युनिटहरूको निरीक्षण गर्ने गरेका छन्। यसले मातहतका प्रहरी कार्यालयको सक्रियता बढेको उनीहरूको भनाइ छ।
संगठनभित्रको खटनपटन व्यवस्थित बनाउने, लागूऔषध तथा तस्करी नियन्त्रण र अपराध अनुसन्धानमा सक्रियता बढाउने प्रयास भए पनि सुदूरपश्चिममा सीमापार अपराध, संगठित तस्करी र लागूऔषध नियन्त्रणका लागि अझ प्रभावकारी समन्वय र निरन्तर निगरानी आवश्यक रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

