काठमाडौँ । नेकपा एमालेको सोमबारबाट सुरु भएको तेस्रो केन्द्रीय कमिटी बैठकमा नौ वटा एजेन्डामाथि छलफल हुने भएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार अध्यक्षको प्रतिवेदन, केन्द्रीय कमिटीमा मनोनीत, विभागहरूको गठन, पोलिटब्युरो गठन,स्थायी कमिटी गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासन आयोग र समसामयिक प्रस्ताव पारित गर्ने एजेन्डा तय भएका छन् ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनमाथि मंगलबार र बुधवार दुई दिन छलफल हुनेछ । प्रत्येक सदस्यलाई ३ मिनेटको समय छुट्टाइएको छ ।

त्यस्तै बैठकको माइन्यूट लेखनको जिम्मा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र महासचिव शङ्कर पोखरेलाई दिइएको छ । बैठकको बहस नोट कमिटी तयार गर्ने जिम्मा पाँच जना नेतालाई दिइएको छ । उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, नीरज आचार्य, खिमलाल भट्टराईलाई बहस नोट तयार गर्ने जिम्मा दिइएको छ ।