काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन बिहान नौ बजेबाट सुरु हुँदैछ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डल स्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु हुने छ । हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको आचार्यले जनाए ।
अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका नौ वटा एजेण्डा मध्ये आठवटाको कारबाही आजबाट सुरु हुने हो । आजबाट क्रमश केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनय,विभागहरुको गठन,पोलिटव्यूरो गठन,स्थायी कमिटीको गठनका एजेन्डा अघि बढाउने तयारी छ। यसैगरी सल्लाहकार परिषद, ज्येष्ठ कम्यूनिष्ट मञ्च,अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यही बैठकले गर्ने छ ।
एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरुको मनोनयन गरेर बैठकमा धारणा राख्ने क्रम सुरु हुने छ। पोलिटव्यूरो, स्थायी कमिटी लगायत नेताहरुको जिम्मेवारी बाँडफाँड भोली गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

