काठमाडौँ । हिजो काठमाडौँको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ। उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो ।
उपचारका क्रममा चालकको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । उनका अनुसार मृतकको नाम र ठेगाना भने खुल्न बाँकी छ । उनको आज बिहान मृत्यु भएको हो ।
हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका थिए र उनको शरीको भाग धेरै नै जलेको थियो ।
सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई गाडीबाट निकालेर कीर्तिपुर अस्पताल पुर्याएका थिए।
सुरूमा उनको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले चालक दावा लामा बताएको थियो । तर, दावाले लाइसेन्सवाला दावा आफू भएको र सकुशल रहेको बताएपछि उनले लाइसेन्सको दुरूपयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

