नागोया — नेपाली करातेले २० औं एसियाली खेलकुदमा सोमबार पनि निराश बनाएको छ । जापानको नागोयामा महिला कुमिते ६८ केजी तौल समूहमा नेपालकी निरुपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित भइन् ।
निरुपा टोयोहाशी जिम्नेजियममा भएको क्वार्टरफाइनलमा हङकङकी वोङ चेक लीसँग ३–० स्कोरमा पराजित भइन् । ३ वर्षअघि हाङझाउ एसियाडमा पनि खेलेकी निरुपाले लीविरुद्ध आफ्नो कुनै अनुभव देखाउन सकिन् ।
एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर आइतबार सेमिफाइनलमा पराजित भएका थिए भने एकल कातामा सानुमाया थिङ पहिलो चरणमै पराजित भएकी थिइन् । नेपालको महिला कराते टोलीले मंगलबार बिहान कातामा प्रतिस्पर्धा गर्नेछ । नेपालले भियतनामसँग खेल्ने छ ।
बक्सिङमा दानबहादुर पराजित
बक्सिङमा दानबहादुर दर्लामी पराजित भएका छन् । पुरुष ७० केजी तौल समूहको प्रारम्भिक चरणमा इराकका अलि कासिम हामदानअल–सारेसँग ५–० को सजिलै पराजित भए । नेपालकी रमिशा श्रेष्ठ र चन्द्रबहादुर थापाले मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।
कबड्डीमा थाइल्यान्डसँग निराशाजनक प्रस्तुति
पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित हुन पुग्यो । समूह ‘बी’ अन्तर्गत सोमबार टोकाइ सिटिजन जिम्नेजियममा भएको खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भयो । नेपाल पहिलो हाफमा २८–२४ ले पछि परेको थियो । थाइल्यान्डले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायम राख्दै ३१ अंक जोड्न सफल भयो । दोस्रो हाफमा नेपालले २४ अंक मात्र जोड्न सक्यो ।

