काठमाडौँ । दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धिले उपभोक्ता मारमा परिरहेको समयमा सरकारले उपभोक्तालाई लक्षित गदै महत्त्वपूर्ण कदम चालेको छ ।
विगतका वर्षहरूमा दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व लक्षित गरेर केही साताका लागि मात्रै सञ्चालन हुने सहुलियत पसलहरू अब भने वर्षैभरि सञ्चालन हुने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका सुगमदेखि अतिदुर्गम क्षेत्रसम्म फैलिने गरी ४४ वटा जिल्लामा ‘वर्षैभरि सहुलियत (छुट) मूल्य पसल सञ्चालन, २०८३’ कार्यक्रम औपचारिक रूपमा लागु गरेको हो । खाद्य सुरक्षा र आपूर्ति व्यवस्थापनमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको यस सरकारी कम्पनीले नाफाभन्दा पनि जनसेवालाई प्राथमिकतामा राखेर यो योजना अघि सारेको जनाएको छ ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू गत भदौ २८ गतेदेखि नै सञ्चालनमा आइसकेका छन् । सर्वसाधारण उपभोक्तालाई सहज र सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउने उद्देश्यले देशभरका ४४ जिल्लास्थित १९३ स्थानबाट यी पसलहरू सञ्चालन भइरहेका छन् ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले पनि काठमाडौँ उपत्यकाभित्र १३ र उपत्यकाबाहिर २५ गरी कुल ३८ वटा निश्चित बिक्री केन्द्र तथा ३ वटा घुम्ती पसल गरी ४० वटा सहुलियत पसल सञ्चालनमा ल्याएको जनाएको छ ।
बजेट तथा सञ्चालन प्रक्रिया
यस महत्त्वाकांक्षी कार्यक्रम सञ्चालनका लागि सरकारले आवश्यक बजेट पनि सुनिश्चितता गरिसकेको छ । कम्पनीका अनुसार नेपाल सरकारको एलएमबीआइएस (लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम) मा स्वीकृत बजेटमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई यस वर्षैभरि सहुलियत मूल्य पसल सञ्चालनका लागि जम्मा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
यस कार्यक्रमको औपचारिक सुरुवात गत साउन महिनामै भइसकेको छ । भदौ २८ गतेदेखि कम्पनीका प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय, शाखा कार्यालय र डिपो कार्यालयहरूबाट बिक्री वितरण हुने गरी यस वर्षैभरि खुल्ने सहुलियत पसलको सञ्चालन गरिएको थियो । खरिद तथा बिक्री केन्द्रहरूका लागि सहुलियत छुटको बजेट व्यवस्थापन गरिएकाले यो कार्यक्रम देशभरका स्थानीय पालिकाहरूसँगको प्रत्यक्ष समन्वय र सहकार्यमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
के–केमा पाइन्छ छुट ?
सहुलियत पसलमार्फत कम्पनीको आफ्नै ‘नेपाल फुड’ ब्रान्डअन्तर्गत बिक्री–वितरण हुने दैनिक उपभोग्य वस्तुहरूमा छुट प्रदान गरिएको छ । निमित्त सीईओ सुवेदीका अनुसार चामल, दाल, तथा खानेतेललगायत खाद्य सामग्रीहरूमा प्रतिलिटर तथा प्रतिकेजी ५ रुपैयाँका दरले छुट दिइएको छ ।
‘हाम्रो कार्यालय रहेका आउटलेट तथा बिक्री केन्द्रहरू गरी कुल १९३ स्थानबाट उपभोक्तालाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइरहेका छौँ,’ सुवेदीले भनिन्, ‘नेपाल फुड ब्रान्डका चामल, दाल, तेलजस्ता वस्तुहरूमा प्रतिकेजी तथा प्रतिलिटर ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।’
कम्पनीले चाडपर्वको समयमा बजारमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउन हरेक वर्ष यस्ता सहुलियत पसलहरू सञ्चालन गर्दै आएको छ ।सहुलियत मूल्य पसलबाट आम उपभोक्ताले दैनिक भान्सामा प्रयोग हुने अत्यावश्यक खाद्यवस्तुहरू सस्तो मूल्यमा खरिद गर्न पाउनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री कक्षहरूमा उपलब्ध खाद्यवस्तुहरू जस्तैः चामल, दाल, चिनी, तेल र गेडागुडीमा उपभोक्तालाई सीधै छुटको व्यवस्था गरिएको छ ।
साथै, कम्पनीले स्थानीय कृषकको उत्पादनलाई प्रोत्साहन गर्न ‘रैथाने बाली’ लाई समेत छुटको दायरामा राखेको छ । यी तोकिएका वस्तुहरू खरिद गर्दा उपभोक्ताले बजार मूल्यभन्दा प्रति किलोग्राम वा प्रति लिटर ५ रुपैयाँका दरले नगद छुट प्राप्त गरिरहेका छन् ।
यी हुन् सुगम तर्फका बिक्री केन्द्र
बजारमा निजी क्षेत्रको एकाधिकार तोड्न र कृत्रिम अभाव तथा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारी स्वामित्वको यस कम्पनीले आफ्नो उपस्थितिलाई देशव्यापी बनाएको छ । यस कार्यक्रमअन्तर्गत सरकारबाट ढुवानी अनुदान प्राप्त गर्ने २६ वटा दुर्गम जिल्लाहरू र कम्पनीको उपस्थिति रहेका अन्य १८ वटा सुगम जिल्ला गरी कुल ४४ जिल्लामा सहुलियत पसल सञ्चालनमा ल्याइएको छ ।
सुगम स्थानको सहुलियत छुट विवरण अनुसार कम्पनीको झापाको बिर्तामोड (मुख्य शाखा), मोरङको विराटनगर (प्रादेशिक कार्यालय), जनकपुर (मधेस प्रादेशिक कार्यालय), पर्साको वीरगञ्ज, सिराहाको लहान, काठमाडौँ (बागमती प्रादेशिक कार्यालय र अन्तर्गतका बिक्री कक्ष), रसुवाको धुन्चे, कास्कीको पोखरा (गण्डकी प्रादेशिक कार्यालय), लमजुङको सुन्दरबजार, तनहुँको विमलनगर र रुपन्देहीको भैरहवा (लुम्बिनी प्रादेशिक कार्यालय) मा पसल सञ्चालनमा छन् ।
त्यसैगरी, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज, सुर्खेत (कर्णाली प्रादेशिक कार्यालय), कैलालीको धनगढी (सुदूरपश्चिम प्रादेशिक कार्यालय), डडेल्धुरा, बर्दियाको राजापुर र कञ्चनपुरको महेन्द्रनगरमा रहेका कम्पनीका कार्यालयहरूबाट उपभोक्ताले छुट सुविधा लिन सक्नेछन् ।
२६ दुर्गम जिल्लामा खाद्य कम्पनीको उपस्थिति
सरकारले विशेष प्राथमिकतामा राखेर ढुवानी अनुदान दिएका २६ दुर्गम जिल्लाहरूमा कम्पनीको सञ्जाल निकै फराकिलो छ । प्राप्त विवरण अनुसार ताप्लेजुङ, सङ्खुवासभा (खाँदबारी, हटियागोला, मकालु), भोजपुर, सोलुखुम्बु (सल्लेरी, सोताङ, लुक्ला), ओखलढुङ्गा, खोटाङ, मनाङ र गोरखामा पसलहरू सञ्चालित छन् ।
यसैगरी मुस्ताङ, रुकुम पूर्व, गुल्मी, रुकुम पश्चिम (बाफिकोट, चौरजहारी), रोल्पा (घर्तीगाउँ, सुलिचौर), जाजरकोट (दशेरा, चौखा, नलगाड), र दैलेख जस्ता पहाडी तथा हिमाली जिल्लाका दर्जनौं डिपो र बिक्री केन्द्रबाट सहुलियत खाद्यान्न वितरण भइरहेको छ ।
अतिविकट मानिने कर्णाली र सुदूरपश्चिमका जुम्ला, कालिकोट (खल्लागाड, रास्कोट), मुगु (सोरुकोट, श्रीकोट), डोल्पा (त्रिपुराकोट, जुफाल), हुम्ला (सर्केगाड, नाम्खा), बझाङ, बाजुरा (मार्तडी, कोल्टी), अछाम, डोटी, बैतडी र दार्चुला (सुनसेरा, खण्डेश्वरी) लगायत जिल्लाका सयौं गाउँपालिका र वडा स्तरका बिक्री केन्द्रहरू मार्फत छुटको खाद्यान्न पुर्याइएको छ ।
देशभर ४१ सहुलियत पसलमा छुट दिँदै साल्ट ट्रेडिङ
साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार काठमाडौँ उपत्यकाभित्र १३ र उपत्यकाबाहिर २५ गरी कुल ३८ वटा निश्चित बिक्री केन्द्र तथा ३ वटा घुम्ती पसल (मोबाइल भ्यान) मार्फत सहुलियत दरमा सामान बिक्री सुरु गरिएको छ ।
उपत्यकाभित्र कालिमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफललगायत स्थानमा रहेका साल्ट ट्रेडिङका बिक्री केन्द्रहरूबाट सेवा दिइएको छ । त्यसैगरी उपत्यकाबाहिर बनेपा, धुलिखेल, त्रिशूली, बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, नारायणगढ, पोखरा, बागलुङ, भैरहवा, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी, टीकापुर, बेलौरी, अत्तरिया, दिपायल, डडेलधुरा, बैतडी, महेन्द्रनगर तथा कृष्णनगर लगायत २५ स्थानबाट सेवा प्रवाह भइरहेको सूचना अधिकारी राजभण्डारीले जानकारी दिए ।
कुन वस्तुमा कति छुट ?
सहुलियत पसलमार्फत नेपाल सरकारको निर्णयअनुसार विभिन्न दैनिक उपभोग्य वस्तुहरूमा छुट प्रदान गरिएको छ । चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट (उपभोक्ताले प्रतिकिलो रु. १०० मा पाउने), यस्तै नुन प्रतिकिलो २ रुपैयाँ छुट,पिठो प्रतिकिलो ७ रुपैयाँ छुट दाल तथा गेडागुडी विभिन्न प्रकारका दाल तथा गेडागुडीमा पनि सहुलियत छुट उपलब्ध गराएको छ ।
चाडपर्वको समयमा बजारमा हुनसक्ने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र उपभोक्तालाई राहत दिन यी सहुलियत पसलहरू प्रभावकारी हुने साल्ट ट्रेडिङले जनाएको छ ।

