काठमाडौं । नेकपा (एमाले) की केन्द्रीय सदस्य रचना खड्काले पछिल्लो निर्वाचनको लज्जास्पद परिणाम र पार्टीको खस्कँदो जनमतलाई स्वीकार गरेर निर्मम समीक्षा गर्न नेतृत्वसँग माग गरेकी छन् ।
ललितपुरको रामबाग महलमा जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै खड्काले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लिखित ‘प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने’ प्रस्तावप्रति आपत्ति जनाउँदै यसले पार्टीलाई थप क्षतविक्षत बनाउने चेतावनी दिएकी छन् ।
निर्वाचन परिणामको चिरफार गर्दै उनले भनिन्, ‘हाम्रो राजनीतिक कार्यदिशाअनुसार नेताहरू कार्यकर्ताबाट र पार्टी जनताबाट अनुमोदन हुनुपर्छ भन्ने मान्ने हो भने पछिल्लो निर्वाचन परिणाम अगाडि राखेर सोचौँ । १६५ निर्वाचन क्षेत्रमध्ये हामीले जम्मा ९ सीट र ११० समानुपातिकमा जम्मा १६ सीट मात्र जितेका छौँ । हारेकामध्ये १५ ठाउँमा मात्र दोस्रो थियौँ भने ४९ ठाउँमा जमानत नै जफत भएको थियो ।’
रचनाले पार्टी अध्यक्ष स्वयं ५० हजार मतान्तरले पराजित भएको र सचिवालयका कुनै पनि नेताले जित्न नसकेको तथ्य स्मरण गराउँदै यथार्थलाई इमानदारीपूर्वक स्वीकार्नुपर्ने बताइन् ।
अध्यक्षको प्रतिवेदनमा संसद् पुनर्स्थापनाका लागि आन्दोलनलाई मूल कार्यभार बनाइएको विषयप्रति विमति राख्दै उनले भनिन्, ‘२०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनपश्चात् आम जनतामा टुट्दै गएको हाम्रो भरोसा र ओरालो यात्रालाई यसले अझ तीव्र मात्रै बनाउने छैन, पार्टीलाई नै क्षतविक्षत बनाउनेछ। कृपया यतातर्फ नलागौँ।’
कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेस नगरिएकोमा उनले असन्तुष्टि पोखेकी छन् । पार्टीको खस्कँदो जनमतको खोजी र कार्यदिशाको समीक्षा हुनुपर्नेमा पार्टीभित्रको छलफललाई केवल नेतृत्व परिवर्तनमा मात्र केन्द्रित गर्न स्वयं अध्यक्षको समेत भूमिका रहेको उनको टिप्पणी थियो ।
‘विचार, व्यवहार, जीवनशैली र पार्टी काम छोडेर मूल्याङ्कनको एउटै आधार नेतृत्वको प्रशंसा र आलोचनामा सीमित भय र सङ्कुचनबाट पार्टी पंक्तिलाई मुक्त गरौँ । एजेन्डामा असहमति राख्नेबित्तिकै पार्टी विभाजन गर्न खोजेको आरोप लगाउने काम बन्द हुनुपर्छ । आन्तरिक प्रतिस्पर्धा नेतृत्वप्रतिको अनादर होइन’, खड्काको तर्क थियो ।
जनमत निर्माणको मुख्य थलो डिजिटल प्लेटफर्म बनिसकेको उल्लेख गर्दै रचनाले त्यहाँ उठ्ने आवाजलाई षड्यन्त्र मात्र नठानी जनमतको यथार्थ बुझ्न र पार्टीका गतिविधिमा संयमता अपनाउन आग्रह गरेकी छन् ।

