काठमाडौँ । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रधानमन्त्री बालेन शाहले सम्पूर्ण नागरिक तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन् । असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशैभर प्रतिकूल मौसम रहने उनले बताएका छन् ।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा भीषण वर्षा हुन सक्ने आँकलन गरिएको छ । त्यसैगरी कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ ।
प्रधानमन्त्रीले वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भन्दै नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेका छन् । पानी परिरहेको समयमा तथा रातिको समयमा राजमार्गमा यात्रा नगर्न र पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी/खोला किनार आसपास विशेष सतर्कता अपनाउन उनले भनेका छन् ।
ट्रेकिङ र हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न प्रधानमन्त्रीको सुझाव छ । उनले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने पूर्वसूचनाहरू नियमित रूपमा हेर्न र निर्देशन पालना गर्न पनि आग्रह गरेका छन् ।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरकारी तथा सुरक्षा निकायहरूलाई आवश्यक पूर्वतयारी, समन्वय र पूर्वसतर्कताका उपायहरू अवलम्बन गर्न निर्देशन दिइएको पनि उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री हाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने सिलसिलामा देशबाहिर छन् । यात्राका क्रममा नै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर सचेत गराएका हुन् ।

