काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको अमेरिकाको तीनदिने भ्रमणका क्रममा विशेष स्वागत गरेका छन् ।

सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प ज्वाइन्ट बेस एन्ड्र्युजको रनवेमा पुगेका थिए । उनीहरूको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो ।

बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सन् १९६२ पछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले यही एयरबेसमा विदेशी राष्ट्रप्रमुखलाई व्यक्तिगत रूपमा स्वागत गरेका हुन् ।यसलाई ट्रम्पले सीको भ्रमणलाई दिएको उच्च प्राथमिकताको संकेतका रूपमा हेरिएको छ ।विमानबाट ओर्लिएपछि ट्रम्प र सीले हात मिलाएका थिए । दुवै नेतासँग उनीहरूका पत्नी पनि उपस्थित थिए । सीको स्वागतका क्रममा अमेरिकी वायुसेनाका दुई बी–१ बमवर्षक विमानले आकाशमा उडान भरेका थिए ।

त्यस अवसरमा अमेरिकी वायुसेनाको ब्यान्डले अमेरिका र चीन दुवै देशका राष्ट्रगान बजाएको थियो भने दुवै देशका झण्डा फहराइएको थियो । स्वागत समारोहपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका थिए ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिका र चीनबीच जारी व्यापार युद्धविरामलाई नोभेम्बरमा समाप्त हुने समयसीमाबाट बढाएर जनवरी १० सम्म कायम राख्न सहमति भएको बताएका छन् ।