काठमाडौँ । देशभर जारी वर्षाका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले सबै संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गरेको छ । सम्भावित विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सरकारी निकाय सक्रिय भएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार मन्त्रालय तथा मातहतका निकायले पूर्वतयारी र प्रतिकार्यका काम तीव्र बनाएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति रोक्न सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताए । उनले विपद्पछिको प्रतिकार्यका लागि स्थानीय तहलाई आफ्नो स्रोतसाधन परिचालन गर्न कुनै कञ्जुस्याइँ नगर्न आग्रह गरे ।

७७ जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरी जिल्ला सुरक्षा समितिको बैठक राखेर सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यकताअनुसार उद्धार तथा प्रतिकार्यमा परिचालन गर्न तयारी अवस्थामा राखिएको छ । नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउने तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

अस्पताल, एम्बुलेन्स तथा स्वास्थ्य केन्द्रलाई समेत आपत्कालीन सेवाका लागि तयारी अवस्थामा राखिएको छ ।

उडानदेखि विद्यालयसम्म सतर्कता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकलाई सुरक्षित स्थानमा सार्न तथा आवश्यक सहजीकरण गर्न होटल व्यवसायीलाई आग्रह गरेको छ । मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न सकिने व्यवस्था गरेको छ । असोज ९ देखि ११ गतेसम्मका तोकिएका परीक्षा स्थगित गर्न तथा सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सहजीकरण गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत अस्पतालमा जनशक्ति, औषधि तथा एम्बुलेन्स सेवा चौबिसै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ ।

खाद्यान्न र इन्धनको आपूर्ति सहज बनाइँदै

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था कम्पनी र नेपाल आयल निगमलाई खाद्यान्न तथा इन्धनको पर्याप्त मौज्दात र नियमित वितरण सुनिश्चित गर्न निर्देशन दिएको छ ।

सम्भावित कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनसमेत तीव्र पारिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रमुख नदीमा पाँच दिन र साना नदीमा ४८ घण्टाअघि नै बाढीसम्बन्धी पूर्वसूचना प्राप्त हुने व्यवस्था मिलाएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले अवरुद्ध विद्युत् सेवा तत्काल सञ्चालन गर्न कर्मचारीलाई तयारी अवस्थामा राखेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मनसुनजन्य जोखिमबाट बालीनाली र कृषि उपज जोगाउन दैनिक विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरिरहेको छ ।

जोखिमयुक्त सडकमा भारी उपकरण परिचालन

पूर्वाधार विकास मन्त्रालयले डोजर, एक्स्काभेटरलगायत भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राखेको छ । त्यस्ता उपकरण चौबिसै घण्टा परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ भने रातिको समयमा जोखिमपूर्ण सडक सञ्चालनमा रोक लगाइएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ११ गतेसम्म ७५३ वटै स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहनसमेत भनिएको छ ।

टेलिकमबाट पूर्वसूचना

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल टेलिकमले बाढीको जोखिम भएका क्षेत्रमा नियमित सूचना सन्देश पठाइरहेको छ । मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना लिन ११५५ मा डायल गर्न सकिने व्यवस्था गरिएको छ ।

आपत्कालीन अवस्थामा नागरिकले जल तथा मौसम विज्ञान विभागको ११५५, जिल्ला आपत्कालीन केन्द्रको १२३४, हेलो सरकारको ११११, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ नम्बरमा सम्पर्क गरी सहयोग लिन सक्नेछन् ।