काठमाडौँ । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनपछि नेकपा एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको शपथ ग्रहण स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रम भोलि असोज १६ गते दिउँसो ३ बजेलाई सारिएको हो ।
एमालेले असोज ५ देखि ८ गतेसम्म गरेको केन्द्रीय कमिटीबाट ३३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
यसैगरी नेता बस्नेतलाई अन्तिम श्रद्धान्जली दिन पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले बिहान दुवाकोटस्थित क्यान्सर अस्पताल पुग्दैछन् ।
बस्नेतको आजै साढे ८ बजे पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए।
पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए। लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको गएराति उपचारक्रममा निधन भएको हो ।

