काठमाडौं । एसियाली खेलकुदको इतिहासमा पहिलोपटक भारत र पाकिस्तानका पुरुष क्रिकेट टोली स्वर्ण पदकका लागि आमनेसामने हुने भएका छन् ।

बिहीबार भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

यस्तै, पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीचको खेल अक्टोबर ३ मा हुनेछ ।

जापानको निशिनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो।

जवाफमा श्रीलंकाको टोली ९.५ ओभरमा ४५ रनमै अलआउट भयो। श्रीलंकाका ६ ब्याटरले खातासमेत खोल्न सकेनन्।

भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २–२ विकेट लिए। श्रीलंकाका तीन खेलाडी रनआउट भएका थिए।

भारतका लागि इशान किशनले अविजित ८० रन बनाए। उनले ४ चौका र ५ छक्का प्रहार गरे। वैभव सूर्यवंशीले २१ बलमा ३८ रन बनाए। उनले ६ चौका र २ छक्का हिर्काए। कप्तान श्रेयस अय्यरले १३ रन जोडे।

पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हरायो

पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल वर्षाका कारण प्रभावित भएको थियो। त्यसपछि खेललाई १३–१३ ओभरमा सीमित गरिएको थियो।

पहिले ब्याटिङ गरेको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनायो। जवाफमा पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ६ विकेटको जित निकाल्यो।