काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले आज विश्व एआई र अल्गोरिदमको युगमा प्रवेश गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै विश्व सङ्क्रमणकालीन उथलपुथलको अवस्थाबाट गुज्रिरहेको बताए।
उनले भने, ‘आज पुरानो विश्व व्यवस्थाको केन्द्र पश्चिमबाट पूर्वतिर सर्दै गएको छ। रुल सेटिङ अब पुरानो नेतृत्वको हातबाट नयाँमा हस्तान्तरण हुने प्रक्रियामा छ। पुरानो संरचना तथा आधार भत्किँदै गएको छ। नयाँ पूर्णतः निर्माण भइसकेको छैन।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्का राजनीतिक, आर्थिक तथा सांस्कृतिक परिघटनाहरुको सूक्ष्म अध्ययन गर्दा नयाँ विश्व व्यवस्थाको मार्ग दुई मार्गचित्र देखा परेको बताए।
उनले थपे, ‘नाङ्गो सैन्य हस्तक्षेप, आक्रमण, कठपुतली सरकारहरूको गठन, नागरिकहरूको मौलिक अधिकारहरूको अपहरण, राज्य आतङ्क, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूको निर्मम दमन, न्यायपालिका तथा व्यवस्थापिकामाथि नाङ्गो हस्तक्षेप, स्रोतहरूमाथि कब्जा आदि मार्फत आफ्नो अनुकूल नयाँ विश्व व्यवस्था निर्माण गर्न यो वर्ग जीवनको अन्तिम युद्ध लडिरहेको छ।’
गत वर्ष भदौ २३–२४ गतेको देश दहन र नागरिक सरकार तथा संसद्को विघटन नयाँ विश्व व्यवस्था पुनर्गठनको नेपाल संस्करण भएको बताए।
उनले भने, ‘हामीले यो असंवैधानिक सत्ता परिवर्तनको तत्काल प्रतिवाद गरेका थियौँ। देश दहन गर्ने दोषीहरूमाथि कारबाहीको माग गरेका थियौँ। विघटित प्रतिनिधि सभाको पुनः स्थापनाको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ। हाम्रो राजनीतिक अडान पुनः स्पष्ट गर्न चाहन्छु।’
फागुनको निर्वाचन भदौ २३–२४ गतेको बाइप्रडक्ट भएपनि आफूहरूले पराजयलाई स्वीकार गरेको बताए।
उनले भने, ‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण कदापि होइन। हामीले यसलाई गम्भीर शिक्षा तथा भावी विजयको लागि सुनौलो अवसरको रूपमा आत्मसात् गरेका छौँ।’
सरकार गठनको ६ महिना महिनामा प्रतिनिधि सभा सत्तापक्ष सरकारको प्रतिछाया मात्र साबित भएको आरोप लगाए।
‘सत्तापक्षले प्रतिपक्षलाई पूरक होइन, बाधक ठान्यो। विधेयकमा कमा र वाक्यांश सम्म थप्न, संशोधन गर्न पनि मानेन। विधि निर्माण उसले आफ्नो एकाधिकार ठान्यो। यो छ महिनाको अधिकांश समय सत्तापक्षको ढ्यापढ्याप सुन्यौँ, प्रतिपक्षको आक्रोश देख्यौँ। तर पछिल्लो समय सत्तापक्षमा केही आशाको किरण देखिन थालेको छ’ उनले भने।

