काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। भोलिबाट सुरु हुने १५औँ महाधिवेशनबाट कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो।

महाधिवेशनबाट विधान संशोधन गर्नको लागि महामन्त्री प्रदीप पौडेल संयोजकत्वको विधान संशोधन समितिले काम गरिरहेको छ। महाधिवेशनको बन्दसत्रमा पदाधिकारीको संख्या बढाउनेगरी प्रस्ताव लैजाने गरी आज शीर्ष तहले टुङ्ग्याउने एक पदाधिकारीले बताए।

ती नेताका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने गरी छलफल अघि बढेको छ। कांग्रेसको विधानमा सभापति १, उपसभापति र महामन्त्री २/२ र सहमहामन्त्री क्लस्टरबाट ८ जना हुने व्यवस्था छ।

ती पदाधिकारीले भने, ‘विधान संशोधन समितिमा छलफल चलिरहेको छ, उपसभापति र महामन्त्री१ १ जना थप हुने निश्चित भएको छ। नेताहरू व्यवस्थापन गर्न चुनौती छ त्यसैले सहमहामन्त्री पनि बढाउने तयारी छ। संख्या टुङ्गो लागेको छैन। ४/५ जनासम्म बढ्नसक्छ।’

प्रवक्ता देवराज चालिसेले पनि आवश्यक विधान महाधिवेशनले संशोधन गर्ने बताएका छन्। कांग्रेसको महाधिवेशन भोलि काठमाडौंमा उद्घाटन हुँदै छ।