पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबारदेखि काठमाडौंको खुलामञ्चमा काँग्रेस महाधिवेसन सुरु भएको छ । उनी ३ पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले भूमिका खेल्ने दावी गरेका छन् । पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेकोले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नमा आफ्नो प्राथमिकता रहने बताएका छन् ।

उनले ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा काम गरेका छन् । ‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,’ उनले भने, ‘मैले त्यसमा पहल गर्नेछु ।’

पार्टी संगठन र सरकार सञ्चालनका क्रममा प्राप्त अनुभवलाई आगामी दिनमा नेपाली कांग्रेसको हितमा उपयोग गर्ने उनको प्रतिबद्धता छ ।

महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार, संवाद र सहकार्यलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको उनको भनाइ छ । पाण्डेले नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा शुभचिन्तकको साथ र सहयोगबाट आफू उपसभापति पदमा निर्वाचित हुने विश्वाससमेत व्यक्त गरे ।

उनको नेतृत्वमा गण्डकीमा गाँजा र घरेलु रक्सीलाई वैधानिकता दिने ऐन बनेको छ । नेपालमै पहिलो पटक राइड सेयरिङलाई कानूनी दायरामा ल्याउने नियम पनि उनैले बनाएका छन् । पाण्डे पार्टीभित्र स्वच्छ छवि र स्पष्ट वक्ताका रुपमा परिचित छन्