भक्तपुर । सरकारले भक्तपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई २ दिनभित्र हट्न भनेको छ ।

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले एक सूचना निकाल्दै बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टर मंसिर ११ गते दिउँसो २ बजे भित्र खाली गर्न उर्दी जारी गरेको हो ।

प्रशासनले सूचनामा भूमि समस्या समाधान समितिको आजकै पत्रको हवाला दिँदै होल्डिङ सेन्टर खाली गर्न भनेको छ ।

काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि विस्थापित सुकुमबासी परिवारलाई अस्थायी रूपमा यहाँ व्यवस्थापन गरिएको थियो।

सूचनामा उल्लेख भएअनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणमा घरमूली वा निजका परिवारका सदस्यहरूको नाममा जग्गा रहेको देखिएका ७ परिवार भूमिहीन नठहरिने भएका छन् ।

त्यस्तै, जग्गा नदेखिएका १२ परिवारका हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनका लागि कारबाही अगाडि बढी निस्सा समेत प्राप्त भइसकेको सीडीओद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रशासनले जग्गा नदेखिएका परिवारहरूलाई आ-आफ्नो निस्सा लिन र सरकारले घरभाडा स्वरूप तोकिदिएको सुविधा बुझ्न भनेको छ ।