काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको वैधतामाथि उठ्दै आएको विवाद अब व्यावहारिक र कानुनी रूपमा औचित्यहीन बनेको वरिष्ठ अधिवक्ता एदुनाथ खनालले बताएका छन्।

खनालका अनुसार विशेष महाधिवेशनबाट सुरु भएको सांगठनिक प्रक्रिया नियमित महाधिवेशन हुँदै अघि बढिसकेको र नयाँ केन्द्रीय कार्यसमितिको नामावलीसमेत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको छ।

निर्वाचन आयोगले नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाइसकेको अवस्थामा विशेष महाधिवेशन वैध थियो वा अवैध भन्ने पुरानो विवादको व्यावहारिक औचित्य समाप्त भएको खनालको तर्क छ।

उनले सर्वोच्च अदालतले समेत विवादको आधारभूत परिस्थिति परिवर्तन भई मागदाबीको औचित्य समाप्त भएको अवस्थामा मुद्दा निष्प्रयोजन हुन सक्ने सिद्धान्त प्रतिपादन गरेको स्मरण गराउँदै अब पुराना विवादमा अल्झिरहनुको कुनै अर्थ नरहेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले कांग्रेसभित्रका सम्पूर्ण भ्रम, अन्योल र गुटगत विवाद अन्त्य भएको सन्देश दिएका छन्। उनले देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई विगतका विवाद त्यागेर चारतारे झण्डामुनि एकजुट हुन र रुख चिह्नमा समाहित हुन आह्वान गरेका छन्।

खनालको स्पष्ट सन्देश छ— अब विवाद होइन, एकता चाहिन्छ; गुट होइन, बलियो कांग्रेस चाहिन्छ। विगतका विवादमा अल्झिने होइन, संगठनको भविष्य निर्माणमा जुट्ने बेला आएको छ।