काठमाडौँ- नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको एफटीटीएच (फाइबर टु द होम) मा आधारित ‘एनटी फाइबर’ सेवाप्रति सेवाग्रहीको आकर्षण र माग बढेपछि कम्पनीले यसको व्यवस्थापन तथा जडान कार्यलाई थप प्रभावकारी बनाउने भएको छ।
एउटै माध्यमबाट उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा प्राप्त गर्न सकिने भएकाले एनटी फाइबरप्रति प्रयोगकर्ताको विश्वास बढेको टेलिकमले जनाएको हो।
टेलिकमका प्रवक्ता डा.कमल लामिछानेले कतिपय कार्यालयमा सेवा जडानको माग अत्याधिक बढेपछि कम्पनीले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुदृढीकरणको कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।
मागअनुसार सेवा जडान गर्न र आपूर्ति शृंखला अवरुद्ध हुन नदिन कम्पनी अहोरात्र प्रयासरत रहेको लामिछानेले विज्ञप्ति निकालेर जनाएका छन्। सरकारी स्वामित्वको संस्था भएकाले आपूर्ति व्यवस्थापनमा विधिवत प्रक्रिया अवलम्बन गर्दै निरन्तर सेवा प्रवाह गर्ने कार्य भइरहेको टेलिकमले स्पष्ट पारेको छ।
सेवाग्रहीको बढ्दो चासोले सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा थप ऊर्जा मिलेको बताउँदै टेलिकमले मागअनुसार सेवा जडान गर्दै गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
साथै सेवा विस्तारको यात्रामा सेवाग्रहीले देखाएको साथ सहयोग र धैर्यप्रति कम्पनीले आभार प्रकट गरेको छ।

