काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)का वरिष्ठ नेता बालेन शाह स्वास्थ्यमा सुधार आएलगत्तै पुनः चुनावी मैदानमा सक्रिय भएका छन्।
गत बिहीबार सुर्खेतमा कार्यक्रमका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनी हवाईमार्गबाट काठमाडौं फर्किएका थिए। केही दिन आराम र उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि शाह फेरि मतदातामाझ पुगेका हुन्।
आइतबार बिहानैदेखि उनले झापा–५ अन्तर्गत दमक क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गरेका छन्। स्थानीयसँग प्रत्यक्ष भेटघाट, सुझाव संकलन र चुनावी एजेन्डाबारे संवाद गर्दै उनले अभियानलाई तीव्रता दिएका छन्।
स्वास्थ्य प्रतिकूलताबीच पनि छोटो विश्रामपछि पुनः सक्रिय भएको उनको कदमले समर्थकहरू उत्साहित बनेका छन्। रास्पाले पनि शाहको सक्रियताले चुनावी माहोल थप सशक्त बनेको जनाएको छ।


