काठमाडौं । सन् २०२६ मा नेपाल र आयरल्यान्ड बिच एकदिवसीय र टी–२० सिरिज हुने भएको छ । आयरल्यान्ड पुरुष क्रिकेट टोली ले सार्वजनिक गरेको वार्षिक अन्तर्राष्ट्रिय तालिकमा सो भ्रमण बारे उल्लेख छ।
यो सिरिज नेपाल र आयरल्यान्डबीच सुरु गरिएको नयाँ पाँच वर्षे रणनीतिक साझेदारीको हिस्सा हुनेछ। उक्त साझेदारीले नेपाली क्रिकेटको विकास, अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राखेको छ।
कार्यतालिका अनुसार आयरल्यान्ड पुरुष क्रिकेट टिमले अगस्ट २०२६ मा अफगानिस्तानसँग पाँच खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाल आउनेछ। नेपालमा हुने खेलहरू ‘ह्वाइट बल’ ढाँचामा हुनेछन्, जसमा टी-२० र एकदिवसीय दुवै प्रकारका खेल समावेश गरिनेछन्। यो भ्रमणलाई दुई देशबीचको क्रिकेट सम्बन्धमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
यसका अतिरिक्त, आयरल्यान्डको २०२६ को तालिका निकै व्यस्त देखिन्छ। टोलीले मे महिनामा न्यूजील्याण्ड राष्ट्रिय क्रिकेट टोली विरुद्ध ऐतिहासिक टेस्ट खेल्नेछ भने जुनको अन्त्यतिर भारत राष्ट्रिय क्रिकेट टिमसँग दुई खेलको टी-२० सिरिज खेल्नेछ। अगस्टमा अफगानिस्तान राष्ट्रिय क्रिकेट टोली सँग घरेलु मैदानमा एकदिवसीय सिरिज हुनेछ। त्यसपछि २०२७ को सुरुवातमा पाकिस्तान भ्रमण गर्ने योजना पनि रहेको छ।
उता, आयरल्यान्डको महिला टोलीले पनि २०२६ मा भारत महिला राष्ट्रिय क्रिकेट टोली, न्युजिल्यान्ड महिला राष्ट्रिय क्रिकेट टोली, पाकिस्तान महिला राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज महिला क्रिकेट टोली सँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। साथै बेलायतमा आयोजना हुने आईसिसी महिला टी–२० विश्व कप २०२६ अघि त्रिकोणात्मक सिरिज आयोजना गर्ने तालिका पनि रहेको छ।

