काठमाडौं — नेपाल आयल निगम ले हालसम्म बजारमा पूरा ग्यास सिलिण्डर ढुवानी तथा आपूर्ति गर्नेबारे कुनै ठोस निर्णय नभएको जनाएको छ। निगमका अनुसार इरान–इसराइल द्वन्द्वको अनिश्चित अवस्थाका कारण आपूर्ति व्यवस्थापन जटिल बनेको छ।
निगमका प्रवक्ता मनोज ठाकुर ले हाल पूर्ण सिलिण्डर बजारमा पठाउने अवस्था नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार अहिले उपभोक्तालाई आधा सिलिण्डर ग्यास नै वितरण गर्ने नीति कायम राखिएको छ।
नेपालमा पेट्रोलियम पदार्थको स्वदेशी उत्पादन नहुँदा पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्छ। इन्डियन आयल कर्पोरेसन बाट आयात हुने इन्धनको मूल्य पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ, जसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको छ।
निगमका अनुसार मार्च १ मा आइओसीले पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर २१६ रुपैयाँ वृद्धि गरेको थियो। तर उपभोक्तालाई राहत दिन निगमले पूर्ण मूल्य समायोजन नगरी सीमित रूपमा मात्रै पेट्रोल र डिजेलको मूल्य बढाएको थियो।
निरन्तर घाटा बढ्दै गएपछि निगमले पुनः पेट्रोल र डिजेलमा १५/१५ रुपैयाँ वृद्धि गरेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्नुको प्रमुख कारण इरान–इसराइल द्वन्द्व रहेको बताइएको छ, जसका कारण आगामी दिनमा पनि मूल्य अस्थिर रहने र नेपालजस्तो आयातमुखी देशमा थप दबाब पर्ने देखिन्छ।

