काठमाडौं । शेरबहादुर देउवा ले आफ्नो बूढानीलकण्ठस्थित निजी निवास बिक्री गरिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै त्यसलाई पूर्ण रूपमा असत्य बताएका छन्।

उनको सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरूमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित “करिब ४ अर्ब रुपैयाँमा घर बिक्री भएको” भन्ने खबरहरू भ्रामक र आधारहीन रहेको स्पष्ट पारेको छ।
सचिवालयका अनुसार उक्त निवास बिक्री गरिएको मात्र होइन, निकट भविष्यमा बिक्री गर्ने कुनै योजना समेत छैन। “बूढानीलकण्ठस्थित निवास ऐतिहासिक र पारिवारिक महत्वसँग जोडिएको सम्पत्ति भएकाले यसलाई बेच्ने कुरा नै उठ्दैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

केही समयअघि आन्दोलनका क्रममा क्षति पुगेपछि घरको केही संरचना भत्काइएको भए पनि त्यसलाई बिक्रीसँग जोडेर गरिएको प्रचार गलत भएको देउवा पक्षको भनाइ छ।
साथै, उक्त घर र जग्गा देउवा पत्नी आरजु राणा देउवा लाई माइती पक्षबाट विगतमा प्राप्त भएको पारिवारिक सम्पत्ति भएको पनि सचिवालयले जनाएको छ।

देउवा हाल विदेश भ्रमणमा रहेका बेला यस्ता अफवाह फैलाइएको भन्दै उनका सहयोगीहरूले जिम्मेवार सञ्चार अभ्यास अपनाउन आग्रह गरेका छन्।