काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आजबाट औपचारिक प्रक्रिया सुरु भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

उम्मेदवारी दर्ता सकिएलगत्तै आजै दिउँसो २:३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने सचिवालयले जनाएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को व्यवस्था अनुसार सभामुखको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुनेछ।

यसपटकको निर्वाचनमा रास्वपाले उपसभापति डोलप्रसाद अर्याल लाई सभामुखको उम्मेदवार बनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको उम्मेदवारी सर्वसम्मतिले अनुमोदन गरेको हो।

हालको प्रतिनिधि सभामा रास्वपाको प्रभावशाली उपस्थिति रहेको र सत्ता समीकरण समेत अनुकूल देखिएकाले अर्याल सभामुखमा निर्वाचित हुने सम्भावना अत्यन्त बलियो देखिएको छ। काठमाडौँ क्षेत्र नं. ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको भूमिकामा समेत सक्रिय रहिसकेका छन्।

यदि एकभन्दा बढी उम्मेदवारी परेमा आइतबार बस्ने बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्नेछ। तर वर्तमान राजनीतिक अंकगणित हेर्दा अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना बलियो बन्दै गएको छ।