काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा रहेका नेपालीहरूले देशभित्र पठाएको विप्रेषण रकम १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले उल्लेख्य वृद्धि भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले मात्र बढेको थियो। पछिल्लो तथ्यांकअनुसार फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब ५१ अर्ब १९ करोडको तुलनामा उच्च हो।
अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि ७.१ प्रतिशत मात्रै थियो।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ११ खर्ब ४९ अर्ब ३० करोडभन्दा उल्लेख्य वृद्धि हो।
वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ। यस अवधिमा २ लाख ७३ हजार ५३६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ५१ हजार ९८५ जनाले पुनः स्वीकृति लिएका छन्। अघिल्लो वर्ष यो संख्या क्रमशः ३ लाख १७ हजार ०६८ र २ लाख १७ हजार ४०३ थियो।
चालु खाता पनि उल्लेख्य बचतमा रहेको छ। फागुन मसान्तसम्म चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको १ खर्ब ९७ अर्ब ३ करोडभन्दा धेरै हो। अमेरिकी डलरमा पनि बचत बढेर ३ अर्ब ८८ करोड पुगेको छ।
त्यस्तै, समीक्षा अवधिमा १० अर्ब ८४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ४७ करोडभन्दा बढी हो।
शोधनान्तर स्थिति पनि सुदृढ देखिएको छ। फागुन मसान्तसम्म शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको ३ खर्ब १० अर्ब ३७ करोडभन्दा दोब्बरभन्दा बढी हो।
समग्रमा विप्रेषण, चालु खाता र शोधनान्तर स्थितिमा भएको सुधारले देशको बाह्य क्षेत्र सुदृढ बन्दै गएको संकेत गरेको छ।

