काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण काठमाडौंमा सुरु भएको छ। बिहीबार सुन्धारास्थित सिभिल मलमा आयोजित उद्घाटन समारोहमा इरानी निर्देशक हिशान्त फराहमन्दद्वारा निर्देशित फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै महोत्सव औपचारिक रूपमा उद्घाटन गरिएको हो।

चैत २३ गतेसम्म चल्ने यस महोत्सवमा नेपालसहित ४० देशका ८८ वटा फिल्महरू प्रदर्शन गरिनेछन्। महोत्सवको उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत, नेपालमा कार्यरत ब्राजिल, पाकिस्तान र श्रीलंकाका राजदूतहरू, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, भारतीय फिल्म ‘शोले’ का निर्देशक रमेश सिप्पी लगायतको उपस्थिति रहेको थियो।

निर्देशक सिप्पी बुधबार काठमाडौं आइपुगेका हुन्। उनी भोलि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा अभिनेता राजेश हमाल सँग संवाद कार्यक्रममा सहभागी हुँदै नेपाली र बलिउड फिल्म यात्रा, व्यक्तिगत अनुभव, र विश्व फिल्म उद्योगको विगत, वर्तमान तथा भविष्यबारे चर्चा गर्नेछन्।

यसपटक महोत्सवमा सिजाङ प्यानोर अन्तर्गत ६ वटा चिनियाँ फिल्म र वृत्तचित्र पनि प्रदर्शन हुनेछन्। यी फिल्महरू नेपाल पर्यटन बोर्ड र छायाँ सेन्टरमा नि:शुल्क हेर्न पाइनेछन्।

महोत्सवमा विभिन्न देशका फिल्म प्रदर्शनसँगै १० वटा अन्तर्क्रियात्मक कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा फिल्म निर्माताहरूले आफ्ना अनुभव साझा गर्नेछन्।