काठमाडौं। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ जनरल र्यान्डी जर्जलाई आफ्नो पदबाट राजीनामा दिन आदेश दिएका छन्। पेन्टागनका प्रवक्ता सीन पार्नेलका अनुसार जर्जले अमेरिकी सेनाको ४१औँ चिफ अफ स्टाफको पदबाट तत्कालै अवकाश लिने तयारी गरेका छन्।

जनरल जर्जको कार्यकाल चार वर्षको सामान्य अवधि हुने भए पनि उनलाई समयअगावै पद छोड्न लगाइएको हो। वेस्ट पोइन्ट मिलिट्री एकेडेमीका पूर्व छात्र जर्जलाई सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडनले यस पदका लागि चयन गरेका थिए।

उनको ठाउँमा आर्मी भाइस चिफ अफ स्टाफ जनरल क्रिस्टोफर ला(नेभ कार्यवाहक सेना प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नेछन्। पेन्टागनका अनुसार ला-नेभ युद्ध अनुभव र दशकौँ लामो फील्ड सेवासहितको नेता हुन्।

हेगसेथले पेन्टागनमा आएदेखि एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई हटाइसकेका छन्। यस बीच, वेस्ट पोइन्ट मिलिट्री एकेडेमीले जर्जका केही तस्बिरहरू पोस्ट गर्दै उनले भविष्यका सेनाका लिडरहरूलाई मार्गदर्शन प्रदान गरेको स्मरण गरेको छ।