काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक सुरु हुने कार्यसूची रहेको छ।
आजको बैठकमा सभामुख पदका लागि डोलप्रसाद अर्याल लाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति रहेका अर्याल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उनको उम्मेदवारीका प्रस्तावक रवि लामिछाने रहेका थिए भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
यसैबीच, राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने तय भएको छ। बैठकमा विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गरिनुका साथै अध्यक्ष र उपाध्यक्ष अनुपस्थित रहँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नामसमेत तोकिने कार्यक्रम छ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाह ले आर्थिक वर्ष २०८१/८२ का लागि महिला आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
संसद्का दुवै सदनका बैठकले महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।

