काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आइतबारदेखि खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ६ लाख ८४ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको हो, जसको कुल मूल्य ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबर हुन्छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम म्याद चैत २५ गतेसम्म तोकिएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा तथा ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट सम्पन्न भइसकेको छ।

हाल दोस्रो चरण अन्तर्गत ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ।