काठमाडौं : प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ। आइतबार बसेको बैठकले डोलप्रसाद (डीपी) अर्याललाई निर्विरोध रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेको हो।
सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकमा औपचारिक घोषणा गर्दै अर्याल सर्वसम्मत रूपमा सभामुखमा चयन भएको जानकारी दिए। सभामुख पदका लागि अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदका लागि प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा रास्वपाकै सांसदहरू सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन जनाएका थिए।
सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकले अर्याललाई सभामुखमा चयन गर्दै संसद् नेतृत्वलाई पूर्णता दिएको हो। नयाँ सभामुख चयनसँगै प्रतिनिधिसभाको आगामी बैठकहरू अझ प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

