काठमाडौं । उत्तरी अफगानिस्तानमा ५.८ देखि ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १२ जनाको ज्यान गएको छ। भूकम्प जमिनको सतहबाट करिब १८६ किलोमिटर गहिराइमा गएको जनाइएको छ।

भूकम्पको धक्का राजधानी काबुलसहित छिमेकी मुलुक पाकिस्तानभारत को नयाँ दिल्लीसम्म महसुस गरिएको थियो।

सबैभन्दा बढी क्षति काबुल बाहिरी क्षेत्र गोसफन्द दारामा भएको छ, जहाँ एक घर भत्किँदा एकै परिवारका ८ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकहरू हालै इरानबाट फर्किएका शरणार्थी रहेको बताइएको छ।

घटनामा सोही परिवारका एक ३ वर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ, जसको काबुलस्थित अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्पका कारण कम्तीमा ५ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३३ घरमा आंशिक क्षति पुगेको छ।

भूकम्पको केन्द्रविन्दु बदख्शान प्रान्तको जुर्म जिल्लाबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको थियो। भूकम्प गहिराइमा गए पनि पछिल्ला दिनमा परेको वर्षाका कारण जमिन कमजोर बनेकाले क्षति बढेको अनुमान गरिएको छ।