काठमाडौं। गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनारमा लिइएको जग्गा प्रकरणबारे आफू र आफ्ना साझेदारहरू जग्गाधनीबाट ठगिएको दाबी गरेका छन्। सोमबार सचिवालयमार्फत सार्वजनिक गरिएको भनाइमा उनले लिज सम्झौता गर्दा वास्तविक अवस्था लुकाएर आफूहरूलाई झुक्याइएको बताएका हुन्।
सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको मापदण्डभित्रका संरचना हटाउने अभियान चलिरहेका बेला गुरुङले लिएको जग्गा पनि सोही मापदण्डभित्र परेको खुलेपछि उनले स्पष्टीकरण दिएका हुन्। उनले जग्गाधनीले उक्त जग्गा मापदण्डबाहिर रहेको भन्दै विश्वास दिलाएको तर पछि वास्तविकता फरक भेटिएको बताएका छन्।
करिब ८–१० वर्षअघि गुरुङसहित तीन जना युवा उद्यमीले फेवाताल किनारमा ‘एडभेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना बनाएका थिए। सो क्रममा जग्गा भाडामा लिँदा उक्त जग्गा ६५ मिटर मापदण्डभित्र नपर्ने जानकारी दिइएको र लालपुर्जामा पनि सुरक्षित देखाइएको उनको भनाइ छ।
तर पछि नगरपालिकाबाट जानकारी लिँदा सो जग्गा मापदण्डभित्रै पर्ने पुष्टि भएपछि आफूले नैतिकताका आधारमा निर्माण कार्य रोकिएको उनले बताएका छन्। “वास्तविकता थाहा पाउनेबित्तिकै काम रोकेका थियौँ,” उनको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ।
गुरुङले यस घटनालाई युवा उद्यमशीलताको सपनामाथिको अन्याय भन्दै दोषीमाथि कानुनी कारबाहीका लागि अघि बढ्ने स्पष्ट पारेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा आलोचना बढेपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

