काठमाडौं । भक्तपुर–पेप्सीकोला क्षेत्रका नवीन बस्नेत माथि गम्भीर प्रकृतिका विभिन्न आरोप सार्वजनिक भएसँगै घटनाको निष्पक्ष छानबिनको माग तीव्र बनेको छ । उनीमाथि विगतदेखि हालसम्म आपराधिक गतिविधि, बिचौलियागिरी तथा प्रभावको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
प्राप्त विवरणअनुसार बस्नेतले वि.सं. २०७० तिर कुमार घैटेसँग चालक तथा सहयोगीका रूपमा काम गरेको दाबी गरिएको छ । त्यस्तै, रक्तचन्दन तस्करीमा संलग्न रहेको र सोसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको आरोप पनि सार्वजनिक भएको छ ।
घैटे हत्या प्रकरणपछि बस्नेतले राजनीतिक तथा प्रशासनिक पहुँच भएका व्यक्तिसँग निकटता बढाउँदै विभिन्न ठेक्का र काममा प्रभाव पार्ने प्रयास गरेको आरोप छ । विशेषगरी नागरिक उड्डयन प्राधिकरण का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सँगको सम्बन्धमार्फत भैरहवा विमानस्थलसम्बन्धी ठेक्कामा प्रभाव पारिएको दाबी गरिएको छ ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिञ्चोक हेलिपोर्ट निर्माणमा अनियमितताको आरोपमा अधिकारीलाई पक्राउ गरी मुद्दा अघि बढाइसकेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका क्रममा अधिकारी र बस्नेतबीचको ह्वाट्सएप संवाद सार्वजनिक भएको दाबी गरिएको छ, जसमा अख्तियारमा मुद्दा ‘मिलाउने’ विषयमा छलफल भएको देखिन्छ । बस्नेतले उच्चस्तरीय पहुँच प्रयोग गरेर मुद्दा प्रभावित पार्ने आश्वासन दिएको आरोप अनुसन्धानमा उल्लेख गरिएको छ ।
तर, अनुसन्धान अधिकारीहरूका अनुसार बस्नेतले दाबी गरेजस्तो उच्च तहसम्म प्रत्यक्ष पहुँच पुर्याएको स्पष्ट प्रमाण भने हालसम्म नदेखिएको बताइएको छ । उता बस्नेतले भने आफूमाथि लागेका अधिकांश आरोप अस्वीकार गर्दै आफू व्यवसायमा संलग्न सामान्य व्यक्ति मात्र भएको बताएका छन् ।
घटनाले उच्च तहको भ्रष्टाचार, प्रभावको दुरुपयोग र बिचौलियागिरीसम्बन्धी प्रश्न फेरि उठाएको छ । यस प्रकरणमा सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।

