काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई दाजुभाइको ज्यान गएको छ। पाँचथर घर भई हाल इमाडोल बस्दै आएका ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, उनीहरूमाथि सञ्जीव नेपालीले धारिलो हतियार प्रहार गरेका हुन्। घटना पश्चात् भाग्दै गरेका सञ्जीवसहित दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बुधबार साँझ नेम्बाङ दाजुभाइले एक नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा सम्पर्क पुगेको थियो। अपरिचितबीच सुरुमा सामान्य कुराकानी भए पनि पछि सोही विषयलाई लिएर भनाभन भएको थियो।
फोनमै विवाद चर्किएपछि सञ्जीवले उनीहरूलाई पाटन बोलाएको र इमाडोलबाट पुगेका नेम्बाङ दाजुभाइमाथि मासु पसलमा प्रयोग हुने धारिलो हतियारले आक्रमण गरेको प्रहरीको भनाइ छ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

