काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका पहाडी भू–भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। कोशीसहित पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र मधेश प्रदेशका केही भू–भागमा हावाहुरीसहित मेघगर्जन, चट्याङ तथा मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रहरूमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा अन्य हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

महाशाखाले वर्षा, हिमपात र चट्याङको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण, यात्रु तथा सवारी साधन सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।