काठमाडौं । इजरायलले बुधबार लेबनानमा गरेको व्यापक हवाई आक्रमणमा परी कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन्। यस घटनाले अमेरिकाइरानबीच कायम रहेको ससर्त युद्धविरामलाई गम्भीर रूपमा प्रभावित पारेको छ।

आक्रमणपछि हिजबुल्लाहले पनि इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ, जसले गर्दा मध्यपूर्व क्षेत्र पुनः तनावग्रस्त बनेको छ। लगातारको आक्रमण र जवाफी कारबाहीले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ।

अन्तर्राष्ट्रिय मानवतावादी संस्था अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार बिना पूर्वसूचना घना बस्तीमा गरिएको बमबारीले ठूलो मानवीय क्षति निम्त्याएको छ। विस्फोटका कारण सर्वसाधारण नागरिकहरू आतंकित बनेका छन् भने घाइतेहरू अस्पतालमा उपचाररत छन्।

यता, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले इजरायलको कदमको कडा प्रतिवाद गर्दै आवश्यक परे जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। तर अमेरिका र इजरायलले भने लेबनान युद्धविरामको दायराभित्र नपर्ने दाबी गर्दै आफ्नो सैन्य गतिविधि जारी राखेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला घटनाक्रमका कारण लेबनानमा मानवीय संकट झन् गहिरिँदै गएको छ। मार्च महिनाको सुरुवातदेखि हालसम्म करिब ११ लाख नागरिक विस्थापित भएका छन्, जुन देशको कुल जनसंख्याको झण्डै २० प्रतिशत हो।

लगातारको हिंसा र अस्थिरताबीच सर्वसाधारण नागरिकहरू सबैभन्दा बढी प्रभावित भइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायले तत्काल संयमता अपनाउँदै शान्ति स्थापनाका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।