काठमाडौँ । मध्यपूर्वमा जारी तनाव अन्त्यका लागि कूटनीतिक पहल तीव्र बन्दै जाँदा इरान र अमेरिकाबीच सम्भावित वार्ताका सर्तहरूमा अझै स्पष्ट सहमति जुट्न सकेको छैन।

शनिबार इस्लामाबादस्थित सेरेना होटलमा सुरु भएको बहुपक्षीय छलफलसँगै इरानको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरीफसँग भेटवार्ता गरेको छ। उक्त भेटपछि इरानी पक्षले अमेरिकी टोलीसँग प्रत्यक्ष वार्ता अघि बढाउने वा नबढाउने निर्णय गर्ने संकेत दिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानले युद्धको स्थायी समाधानका लागि आफ्ना केही प्रमुख सर्तहरू अघि सारेको छ। ती सर्तहरूमा अन्तर्राष्ट्रिय रूपमा रोक्का गरिएका इरानी सम्पत्तिको फुकुवा, साथै लेबनानमा हेजबुल्लाहमाथि भइरहेको इजरायली आक्रमणको अन्त्य अनिवार्य रूपमा समावेश हुनुपर्ने उल्लेख गरिएको छ।

तर अमेरिकी पक्ष भने ती सर्तहरूप्रति लचक देखिएको छैन। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इस्लामाबाद वार्तामा रोक्का गरिएको इरानी सम्पत्तिको विषय प्राथमिक छलफलको एजेन्डा नहुने स्पष्ट पारेका छन्।

इरानी प्रतिनिधिमण्डल संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा इस्लामाबाद पुगेको हो। उनीहरूलाई पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनीरले स्वागत गरेका थिए। त्यसपछि दुवै पक्ष वार्ता स्थलतर्फ अग्रसर भएका थिए।

उता, अमेरिकी प्रतिनिधिमण्डलको पनि उच्चस्तरीय उपस्थितिले वार्तालाई थप महत्व दिएको छ। उपराष्ट्रपति भान्ससँगै अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि इस्लामाबाद पुगेका छन्।

यद्यपि, प्रतिबन्ध हटाउने विषय, लेबनानमा युद्धविरामको कार्यान्वयन तथा रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज खुला गर्ने जस्ता मुद्दाहरूमा दुवै पक्षबीच अझै गहिरो मतभेद रहेको देखिएको छ। आपसी अविश्वास कायमै रहँदा तत्काल निष्कर्षमा पुग्ने सम्भावना न्यून देखिएको विश्लेषण गरिएको छ।