काठमाडौँ । सामाजिक सञ्जालमा अपमानजनक अभिव्यक्ति प्रयोग गरी भिडियो सामग्री बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।
फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले शुक्रबार (चैत २६) नियन्त्रणमा लिएको हो। उनले विभिन्न सार्वजनिक व्यक्तित्वहरूमाथि लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गरी भिडियोहरू तयार पारेको आरोप छ।
प्रहरीका अनुसार पोखरेलले फेसबुक, इन्स्टाग्राम तथा ‘Hades’ नामक युट्युब च्यानलमार्फत विवादास्पद सामग्री सार्वजनिक गर्दै आएका थिए।
यस घटनासम्बन्धी अनुसन्धानका लागि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले साइबर अपराधसम्बन्धी कसूर अन्तर्गत अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
प्रहरीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।

