काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा लाई थप व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यसहित ‘प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समिति’को बैठक आइतबार पनि सिंहदरबारमा जारी रहेको छ। नयाँ नियमावली निर्माण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको समितिले जनाएको छ।
समितिका सभापतिगणेश पराजुलीको नेतृत्वमा गठित १५ सदस्यीय टोलीले संसद् सञ्चालनसम्बन्धी विद्यमान प्रावधानहरूको पुनरावलोकन गर्दै समयसापेक्ष संशोधन र नयाँ व्यवस्थाको खाका तयार पारिरहेको छ। सदस्यहरूले नियमावलीका विभिन्न दफा र अध्यायमा संशोधन प्रस्ताव पेश गरेका छन्, जसमा विस्तृत दफावार छलफल जारी छ।
यसपटकको परिमार्जनमा संसदीय प्रक्रियालाई छरितो, जवाफदेही र पारदर्शी बनाउने विषयमा विशेष जोड दिइएको छ। साथै, संसद्को गतिविधि र निर्णय प्रक्रियामा जनताको पहुँच विस्तार गर्न सूचना प्रविधिको प्रभावकारी प्रयोगसम्बन्धी प्रावधानहरू समेट्नेबारे पनि गहन छलफल भइरहेको छ। यसले संसदलाई अझ खुला र जनमुखी बनाउने अपेक्षा गरिएको छ।
समिति गठन भएयता मस्यौदा तयारी कार्यले तीव्रता पाएको छ। विगतका अभ्यासबाट सिक्दै सदनमा देखिने अवरोध न्यूनीकरण गर्ने र समयको प्रभावकारी उपयोग सुनिश्चित गर्ने विषयमा सदस्यहरूबीच सहमति देखिएको छ। नयाँ नियमावली संसद्को कार्यक्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।

