काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल लामो समयदेखि प्रयोग र अभ्यासको केन्द्र बनेको टिप्पणी गरेका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमा उनले राजनीति, राज्यपद्धति र शासन प्रशासनमा भएका बारम्बारका परिवर्तनले अपेक्षित उपलब्धि दिन नसकेको बताएका छन्। उनका अनुसार यस्ता परिवर्तनहरूले राष्ट्रलाई प्रगतिको बाटोमा अघि बढाउनुको साटो पछाडि धकेलेको छ।

“हामी सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीमा लाग्यौँ। फलस्वरूप देश प्रयोगशाला मात्रै बन्यो,” उनले सन्देशमा उल्लेख गरेका छन्।

पूर्वराजा शाहले विगतका वर्षहरूमा मुलुकले चाहेको जस्तो विकास हासिल गर्न नसकेको र नागरिकमा निराशा बढ्दै गएको पनि बताएका छन्। उनले कोरा परिवर्तनभन्दा परिणाममुखी विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

यद्यपि, उनले राजनीतिमा युवाहरूको बढ्दो सहभागितालाई सकारात्मक रूपमा लिँदै शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा दक्ष युवाहरूले राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरेका छन्।

देश अहिले विभिन्न समस्याले घेरिएको उल्लेख गर्दै उनले आर्थिक अवस्था सुदृढ पार्न, छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरूसँग सहकार्य बढाउन र राष्ट्रिय हितलाई केन्द्रमा राख्न आवश्यक रहेको बताएका छन्।

त्यस्तै, आन्तरिक सुरक्षा प्रणाली कमजोर भएकोतर्फ संकेत गर्दै उनले नागरिकलाई शारीरिक, मानसिक र भौतिक सुरक्षाको अनुभूति दिलाउन राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन्। निषेध, विभाजन र द्वन्द्वले राष्ट्रलाई कमजोर बनाउने भन्दै उनले आपसी सद्भाव र एकतामा जोड दिएका छन्।