काठमाडौँ । ललितपुरमा प्रत्येक वर्ष मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्रनाथ जात्रा यस वर्ष पनि सुरु भएको छ । वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार परम्परागत विधिअनुसार सम्पन्न भएको हो ।
गुठी संस्थानका अनुसार, रथ निर्माण कार्य पूरा भएपछि मच्छिन्द्रबहालबाट देवताको मूर्ति विधिपूर्वक पुल्चोक पुर्याइएको थियो । त्यहाँ पूजाअर्चना गरी देवतालाई रथमा विराजमान गराइएको हो । रथारोहणअघि पूजाहारी जलपानेजु र खलपानेजुमार्फत धार्मिक विधि सम्पन्न गरिएको बाराही नाइके प्रेम महर्जनले जानकारी दिए ।
उपत्यकाकै सबैभन्दा लामो समयसम्म चल्ने यस जात्राअन्तर्गत यही वैशाख ८ गते बेलुकी पुल्चोकबाट रथ तान्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि विभिन्न स्थान परिक्रमा गर्दै जात्रा अघि बढ्नेछ ।
स्थानीयवासीका अनुसार, यो जात्रा वर्षा र सहकालको कामनासहित मनाइने भएकाले विशेष धार्मिक आस्था र उत्साहका साथ सहभागी हुने परम्परा रहिआएको छ । ललितपुरको सांस्कृतिक पहिचानका रूपमा रहेको यो जात्राले हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित गर्दै आएको छ ।
